फाइल फोटो
काठमाडौं– नेकपा(माओवादी केन्द्र)का एकपछि अर्को नेताहरु अनेकौं प्रकरणमा डामिएर विवादित हुँदै आएका छन् । एकातिर पार्टी विभाजनबाट कमजोर भएको माओवादीमा नेताहरुका एकपछि अर्को काण्ड बाहिरिँदै जाँदा पार्टीमा थप संकट निम्तिएको छ ।
यसैबीच आइतबार माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । दुबईबाट ल्याउँदै गर्दा त्रिुभुवन विमानस्थलमा जफत गरिएको सुन तस्करीमा महराकै संलग्नता रहेको आरोप लागेपछि त्यसको अनुसन्धान गर्न प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो । उनलाई यस अघि पनि सोही प्रकरणमा प्रहरीले पक्राउ गरेर धरौटीमा छाडेको थियो ।
२०७९ साल पुस १० गते दुबईबाट ७३० थान सुनसहितको इलेक्ट्रिक सिगरेट त्रिभुवन विमानस्थलबाट बरामद गरिएको थियो । उक्त सुन छुटाउन महराले तान्तातर विमानस्थलका कर्मचारीलाई दबाब दिएका थिए । सुन तस्करी प्रकरणमा डामिएका महरा पक्राउ परे लगत्तै माओवादीका अर्का नेता एवं पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ पनि अनुसन्धानको दायरामा तानिएका छन् । प्रहरीले उनको समेत अनुसन्धानका लागि निगरानीमा राखेको बताइएको छ ।
महरा सहित सोही सुन तस्करी प्रकरणमा उनको छोरा राहुल समेत पुपक्र्षका लागि कारागार चलान भएर धरौटीमा छुटेका हुन् । अर्का माओवादी केन्द्रका उपाध्यक्ष रहेका पूर्वउपराष्ट्रपति पासाङका दुई छोरा नै सुन तस्करी प्रकरणमा मुछिएका छन् । पासाङका छोरा जितेन्द्र र दिपेश दुबै सुन तस्करीमा मुछिएपछि फरार रहेका छन् ।
पासाङको जेठो छोरा जितेन्द्र चिनियाँ व्यापारीसँग सुन लिएर पैसा नदिई फरार रहेका छन् भने अर्का दिपेशलाई सुन तस्करीको आरोपमा प्रहरीले अनुसन्धान गरेर छाडेको थियो ।
पूर्वन्यायाधीश डिल्ली आचार्यको नेतृत्वमा गठित सुन तस्करी जाँचबुझ आयोगले समेत दिपेशलाई सुन तस्करीमा शंकास्पद भूमिका रहेको भन्दै अनुसन्धानको दायरामा ल्याउनुपर्ने राय दिएको छ ।
यस्तै, माओवादीका अरु नेता पनि सुन तस्करी प्रकरणमा मुछिए पनि कानुनी दायरामा ल्याइएको छैन । महरा, पासाङसहित उपमहासचिव वर्षमान पुन पनि सुन तस्करीमा संलग्न रहेको आरोप लागेका माओवादी नेता हुन् । उनका भाइ प्रनिश ६१ किलो सुन तस्करीका अभियुक्त तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङसँग सुन कारोबारमा संलग्न रहेको आरोप लागेपछि फरार रहेका छन् । उनै दावा छिरिङकी पत्नी अमला रोका पुनको गृह जिल्ला रोल्पाकै माओवादी नेतृ हुन् ।
प्रतिक्रिया