एकीकृत समाजवादी विभाजित

माधव नेपाल माओवादीसँग एकता गर्दै, खनाल पक्षले बोलायो छुट्टै भेला

शनिबार, १५ कार्तिक २०८२, १० : २३

काठमाडौं–नेकपा(एकीकृत समाजवादी) औपचारिक रुपमै विभाजित भएको छ । शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव नेपालसहित बहुमत नेताहरुले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालसहितका नेताहरु त्यसको विपक्षमा उभिएर अलग हुने निर्णय गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी)को बहुमत केन्द्रीय कमिटीले नेकपा माओवाद केन्द्रसँग एकता गर्ने निर्णयपछि सम्मानित नेता खनाल पक्षले अलगै भेला बोलाएको छ । भेला शनिबार दिउँसो काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा बस्ने तय भएको छ ।

‍भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विजय पौडेलसहित केन्द्रीय सदस्यहरू उपस्थित हुने दाबी झलनाथ पक्षले गरेको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको निष्कर्ष सुनाउँदै पार्टी अध्यक्ष नेपालले एकता प्रस्ताव सर्वसम्मतले अनुमोदन भएको सुनाएका थिए ।

शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय कमिटीको उक्त बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता खनाल र महासचिव भुसाल लगायतका नेताहरु विपक्षमा उभिएका थिए ।

एकीकृत समाजवादीले पार्टी एकता गर्ने निर्णय गरेसँगै माओवादीले पनि शनिबार सचिवालय बैठक बोलाएको छ ।  बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायतका पार्टीसँग एकता, पदीय व्यवस्थापनका विषयमा छलफल गर्न लागेको छ ।

 

 
 
 
शनिबार, १५ कार्तिक २०८२, १० : २३

प्रतिक्रिया