प्रचण्डको माधव मोहप्रति पूर्वलडाकुको कटाक्ष- संकटकाल लगाएर माओवादी मार्न लगाएकाले हो ?

शनिबार, १५ कार्तिक २०८२, १० : ४६

काठमाडौं– नेकपा(माओवादी केन्द्र) र एकीकृत समाजवादीको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बेला दुबै पार्टीभित्र असन्तुष्टि मौलाएको छ । एकीकृत समाजवादीको शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालसहित महासचिव घनश्याम भुसाल बाहिरिएका छन् ।

यता, माओवादीमा समेत एकता प्रक्रिया प्रति नेता कार्यकर्ताहरु सन्तुष्ट देखिएका छैनन । यही क्रममा माओवादीका पूर्वजनमुक्ति सेनाका एक बटालियन कमाण्डरले समेत एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको एकताप्रति गम्भीर प्रश्न उठाएका छन् ।

माओवादीका पूर्व जनमुक्ति सेनाका बटालियन कमाण्डर रहेका विरेन्द्र श्रेष्ठले एकता गर्नुको कारण ‘माधव नेपालले महाकाली सन्धीदेखि जनयुद्धमा संकटकाल लगाएर माओवादी मार्न लगाएकाले हो ?’ भन्दै प्रचण्डलाई १४ बुँदे प्रश्न गरेका छन् । विभाजित माओवादी नचाहिने तर माधव नेपाल चाहिने भन्दै उनले त्यसको कारण खोजेका छन् ।‘कम्युनिष्ट पार्टीको बर्को ओढेर राजाका पाउमा भेटी राखेकाले एकता गर्न लागिएको हो ? ’,उनको अर्को प्रश्न छ ।

यस्तो छ माओवादी पूर्वलडाकु श्रेष्ठको प्रचण्डलाई १४ बुँदे प्रश्न 

दर्शन, बिचार सिद्धान्त, इमान र नैतिकताको प्रश्न त रहेन/छैन तर माधब कुमार नेपालसंग एकताको तयारी हुँदै गर्दा केही प्रश्न;
एकीकृत समाजवादीसंग एकता किन ?
१) पार्टी बिभाजन स्वीकारेर महाकाली सन्धी अनुमोदन गरेकोले ?
क) सुर्य पश्चिमबाट उदाउने भएकोले ?
ख) स्याटलाइटबाट बिजुली बेच्ने भएकोले ?
२) २०५८ सालमा तत्कालीन सरकारले माओवादी विरुद्ध संकटकाल लागू गरि 'आतंककारी तथा विध्वंसात्मक गतिविधि नियन्त्रण तथा सजाय ऐन २०५८' जारीगरि टाउकाको मोल तोक्न र सरकारलाई माओवादीका नाममा मान्छे मार्ने लाइसेन्स दिन मुख्य भुमिका खेलेकोले ?
३) कम्युनिष्ट बर्को ओढेर राजाका पाउमा भेटी राखेर लम्पसार परेकोले ?
४) प्रधानमन्त्री पाउने भएपछी प्रतिगामन सच्चियो भन्दै नारायणहिटीमा प्रधानमन्त्रीको दरखास्त हालेकोले ?
५) २०६४ चैत्र २८ को संविधानसभा निर्वाचनमा काठमाडौं-२ र रौतहट-५ बाट पराजित भएपनी ब्यवस्था प्रणाली भन्दा पनि 'म नै राज्य हुँ' भन्ने भाव जगाउन साथ दिएकोले ?
६) पहिलो संविधानसभा निर्वाचन पछि क्रान्ति र आन्दोलनको राप ताप र प्रभाव सहित जनअनुमोदित सरकारलाई शक्तिकेन्द्रको मतियार बनेर सेनापती प्रकरणमा असहयोग गरि सरकारको नेतृत्व हत्याएर क्रान्तिकारी शक्तिलाई सडकमा पुर्‍याएकोले ? 
७) राजाको सम्पत्ति खाएर राजा हुने मनोदशाका साथ ११३ रोपनी बालुवाटार (ललिता निवास) जग्गा आफ्ना 'चन्दादाता'हरुको नाममा नामसारी गरेर राज्यशक्तिको दुरुपयोग र भागबण्डा मिलाएकोले ?
८) संविधान निर्माणका क्रममा सधै दिशाहीन तर माओवादीले राखेर हरेक अग्रगामी भनिएका प्रस्तावहरुको बिपक्षमा खडा भएकोले ?
९) नेकपा (नेकपा) कालमा आन्तरिक अन्तर संघर्ष र पार्टी विघटनका चरणमा न एमाले न माओवादी बनेर अवस्थालाई झनै जटिल, कठिन र अझै माओवादीलाई संकटपूर्ण अवस्थामा धकेलेकोले ?
१०) कसुरदार ठहर हुने पतन्जलीको नाममा ५५४ रोपनी जग्गामा गरेको भ्रष्टाचारमा मुद्दामा जोगाउन ?
११) सुशासन, भ्रष्टाचार अन्त्य र स्थायित्वका लागि जेन-जी प्रदर्सन पछिको असहज अवस्थामा लोकतन्त्र बिकल्प 'राजा' भन्दै राजासंग सम्पर्क र संवाद गरेकोले ?
१२) अस्तिदेखि हिजोसम्म यस्ता अनेकौं अप्राकृतिक, अमानवीय, अनैतिक, अराजक, भ्रष्ट र राष्ट्रघाती कार्यमा अभ्यस्त माधव कुमार नेपाल - Madhav Kumar Nepal  माओवादीलाई किन चाहिएको ? न्यून जनमत, कमजोर संगठन, नीति विधि, गति मति र दिशाहीन यिनको सबै अपराध, भ्रष्टाचार र राष्ट्रघातमा हिस्सेदार र समर्थन हो/थियो ?
१३) प्रतिज्ञा, प्रतिबद्धता, युद्ध, बलिदान र बाचा मात्र होइन योद्धा र आन्दोलन समेत बिर्सिएका नैतिकहीनहरुको भेडींगोठ तयार गर्न लाग्या हो ?
१४) माओवादी धाराका मुख्य पात्रहरु मोहन बैद्य, बाबुराम, बादल, सिपि गजुरेल, टोपबहादुर, नेत्रबिक्रम, खड्ग बहादुर, धर्मेन्द्र, प्रभु साहहरु समेत नअट्ने, लखेटिने, भाग्ने, कृष्णबहादुर महराहरु पटकपटक अपमानित हुने, नचाहिने तर 'बिना ढेउवाके' माधब कुमार नेपालहरुको आवश्यकता किन ? आत्मसमीक्षा गरौं ।

०६२/०६३ को जनआन्दोलन पछि फेरिएको ब्यवस्था, स्थापित भएको राजनैतिक शक्ति, स्थापना गरिएको प्रणाली, संरचना, संस्थागत गरिएको बेथिति, भ्रष्टाचार अपराधका विरुद्धको बिद्रोह हो भदौ २३ र २४ को ।
पुनर्गठन र रुपान्तरण बिनाको एकता बिनासको यात्रा हो शुभकामना ! 

बर्तमान लाचार र निरीह छ होला तर ०५२ देखि ०८१ सम्मको पलपलको हिसाब इतिहासको कठघरामा उभ्याएर समयले खोज्नेछ ।

   

 

 
शनिबार, १५ कार्तिक २०८२, १० : ४६

प्रतिक्रिया