काठमाडौं - नेपाली समाज यतिबेला भयंकर अन्योल र अस्थिरताको भुमरीमा फसेको छ । समाजलाई यो भुमरीबाट निकाल्ने चमत्कारिक राजनीतिक दल र नेतृत्व अहिलेसम्म देखिएको छैन । छन् त केवल जनताको नजरमा स्वार्थी, बेइमान र अवसरवादीहरु मात्र । जसले यो मुलुकलाई तीसौं वर्षदेखि दोहन गरिरहेका पुराना र पटक पटक परिक्षण भएका छन् उनीहरु नै नयाँ नयाँ चटक गरेर फेरि पार्टी सत्तामा रहने दुस्साहस गरेका छन् ।
आजको आवश्यकता पुराना र जनताको नजरमा गिरेका राजनीतिक दलहरुको धु्रविकरण होइन । घुमाइ फिराई पुरानै नेतृत्वलाई पूजा गर्ने प्रणालीको रक्षा होइन ध्वंश जरुरी छ । परिवर्तनकारी शक्तिहरुको भावना र ऐजेण्डाको सम्बोधन आजको आवश्यकता हो । तथाकथित ठूला भनिएका राजनीतिक दलहरुको पुनर्संरचना र पुनर्गठन हुनै पर्ने अवस्था छ । यदि त्यसो हुन सक्तैन भने यी दलहरुको बिघटन अवश्यमभावि छ । पुरानोको ध्वंश नभएर नयाँको विकास हुन सक्तैन । यो दार्शनिक सत्यलाई जसले बुझेर पनि बुझ पचाइरहेका छन् तिनीहरुको विनास पनि धेरै टाढा छैन ।
अहिले बजारमा माधव नेपाल र प्रचण्डको एकताको थोर बहुत चर्चा हुने गरेको छ । उनीहरु दुवै जना संकटमा रहेका पात्र हुन । माधव नेपालमाथि लागेको मुद्धा एउटा समस्या छ । अर्को उनले नेतृत्व गरेको दल पनि अस्तित्व रक्षाको अवस्थामा पुगिसकेको थियो । उनले एमालेबाट विद्राेह गर्नुको औचित्य सावित गर्न सकिरहेका थिएनन् । केपी ओलीसँग वैयक्तिक इगो बोकेर उनी एमालेबाट बाहिरिएका थिए । नेता कार्यकर्ताहरु एमालेमा फर्किने क्रम सुरु भैसकेको थियो । त्यसैले उनलाई एकताको बहाना चाहिएको थियो । त्यस्तै, माओवादीमा प्रचण्डको नेतृत्वमा पनि प्रश्नहरु उठिरहेका थिए । उनी झण्डै चार दशकदेखि निर्विकल्प नेता बन्दै आएका थिए । उनलाई कसैले आफ्नो नेतृत्वमा प्रश्न उठाएको मनपर्ने कुरा भएन । माओवादी पार्टी भनेकै प्रचण्ड भन्ने भाष्य निर्माण भैसकेको थियो । यसको विरुद्ध आवाज उठाउने र विधि पद्धति अनुसार पार्टी चल्नुपर्छ भन्नेहरु प्रचण्डको लागि आँखाका कसिंगर नै बनेका थिए । उनले विशेष महाधिवेशन गर्ने भनेर आयोजक समिति गठन भएको थियो । प्रतिष्प्रधाबाट पुन अध्यक्ष बन्न प्रचण्डलाई विभिन्न चुनौतिहरु खडा भैसकेका थिए । त्यसैले एकताको निहुँमा आफनो अकण्टक नेता बन्ने बाटो सुरक्षित गर्न प्रचण्डको लागि माधव नेपालसँग एकता बाध्यात्मक बनेको थियो । तसर्थ, यो एकताले माधव र प्रचण्डलाई व्यक्तिगत तथा राजनीतिक रुपमा फाइदा नै भएको छ । त्यसैले यो एकताले मुलुकको आजको समस्याको सम्बोधन गर्न सक्ने कुनै संभावना छैन ।
पुराना र थोत्रा तथा व्यक्तिवादी सोच भएका नेताहरु एक ठाउँमा जुट्दै गर्दा तिनै पार्टीभित्रका अन्य नेताहरु भने विद्रोह गर्ने अवस्थामा पुगेका छन् । दलहरुमा एकता र विग्रहको क्रम सुरु भएको अवस्था विद्यमान देखिन्छ । माधव नेपालको पार्टीबाट एकतामा सहभागि नहुने भलनाथ खनाल र घनश्याम भुसाल लगायतका नेताहरु नयाँ ध्रुविकरणको अभ्यास गरिरहेका छन् । त्यस्तै तत्कालीन माओवादी केन्द्रका नेता जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरुले त पुरानो पार्टीसँग औपचारिक रुपमा नै सम्बन्ध बिच्छेद गरिसकेका छन् । नेता शर्मा माओवादी विद्रोहका पूर्व कमाण्डर हुन भने कार्की प्रखर विचारक हुन । उनीहरुको विद्रोह वा प्रचण्डसँगको सम्बन्ध बिच्छेद निकै महंगो पर्ने देखिन्छ । शर्मा माओवादी केन्द्रमा संगठन विभागको जिम्मेवारीमा पनि रहेका थिए । त्यसैले पनि उनको नेतृत्वमा गोलबन्द हुने संख्या बढ्दै जाने अनुमान गरिएको छ । आफ्नो क्षेत्रमा मजबुत जनाधार भएका शर्मा जनताको सुखदुखमा साथ दिने लोकप्रिय नेताको रुपमा चिनिन्छन् ।
कतिपय आलोचकहरु उनको ‘प्रगतिशील अभियान, नेपाल’ लाई एमाले वामदेव गौतमको अभियानसँग तुलना गरिहेका छन् । तर वामदेवको अभियानभन्दा शर्माको अभियान तात्विक रुपमै भिन्न छ । नेतृत्व क्षमता र विचारका दृष्टिले नै गौतमभन्दा उनीहरु फरक छन् । किनकी यो अभियानमा राम कार्की पनि छन् । अर्को कुरा यो अभियान माओवादी केन्द्र वा प्रचण्डको विकल्पमा बनेको होइन । यसको ध्येय र लक्ष्य वृहत् राष्ट्रिय स्वार्थमा आधारित छ । तसर्थ, यो अभियानले निराश नेपाली युवा र परिवर्तनका पक्षधर सबैलाई उत्साहित बनाउने प्रयाप्त आधारहरु छन् ।
यस अभियानका अगुवा जनार्दन शर्मा र राम कार्कीले हिंजो पत्रकार सम्मेलनमा व्यक्त गरेका विचार र भावनाका आधारमा विश्लेषण गर्दा पक्कै पनि यसले पुरातनपन्थी र शास्त्रीय मान्यताहरु बोकेर होइन परिवर्तनका एजेण्डा बोकेर हिंड्नेछ । यस आधारमा यो अभियानले वास्तविक वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्नेछ । दलाल पूँजिवाद र नव सामन्तवादको चक्रव्यूहमा फसेको एमाले, कांग्रेस र माधव–प्रचण्ड गुटको असली विकल्पको रुपमा सशक्त दल निर्माण गर्दै अघि बढ्नु नै साँचो अर्थमा विद्रोह हो । त्यसले मात्र आजसम्म देशलाई लुटेर नअघाएका ब्वाँसाहरुलाई इतिहासको रक्षानमा मिल्काउन सकिनेछ ।
प्रतिक्रिया