श्रावण महिना नेपाली समाजमा धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले विशेष महत्व बोकेको महिना हो । मनसुनका कारण खेतबारी हराभरा छन ्, किसान खेतीपातीमा व्यस्त छन्, गाउँघरमा मौसमी फलफूल र हरिया तरकारी प्रशस्त पाइन्छन । प्रकृतिको यही हरियाली र जीवन्तताले श्रावणलाई उत्साह, उमंग र नवीनताको प्रतीक बनाएको छ।
हिन्दू धर्मावलम्बीका लागि श्रावण महिना भगवान शिवको आराधनाको महिना मानिन्छ । यस अवधिमा शिव मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने, व्रत–उपवास बस्ने तथा पूजा–आराधना गर्ने परम्परा रहिआएको छ। विशेषगरी विवाहित महिलाहरूले परिवारको सुख, समृद्धि र श्रीमानको दीर्घायुको कामना गर्दै हरियो चुरा, पोते, मेहन्दी तथा हरिया वस्त्र धारण गर्ने चलन आज पनि जीवित छ। यस्ता परम्पराले धार्मिक आस्थासँगै सामाजिक र सांस्कृतिक पहिचानलाई पनि बलियो बनाएका छन्।
हिन्दू दर्शनले केवल पूजा–आराधनामै सीमित नभई नैतिक आचरण, अनुशासन, संयम र सदाचारलाई पनि विशेष महत्व दिएको छ । सात्विक भोजन, आत्मसंयम, मदिरा, धूम्रपान तथा अन्य कुलतबाट टाढा रहने सन्देशले स्वस्थ र अनुशासित जीवनशैली निर्माणमा योगदान पु¥याउँछ। धर्मको मूल उद्देश्य पनि मानवलाई असल चरित्र, सहिष्णुता र सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्नु हो।
श्रावण संक्रान्ति, जसलाई कर्कट संक्रान्ति पनि भनिन्छ, नेपाली समाजमा परम्परागत रूपमा विभिन्न रीति–रिवाजका साथ मनाइन्छ । श्रावण संक्रान्तिको दिनदेखि सूर्य दक्षिणायन हुने छन् । देशका विभिन्न स्थानमा श्रावन संक्रान्तीका दिन र अघिल्लो दिन ’लुतो फाल्ने’ परम्परा, धसिङ्गर वा सल्लाको दाउरा बाल्ने, मौसमी परिकार खाने तथा नाचगान गर्ने चलन आज पनि कायम छ। यस्ता परम्पराले रोगव्याधिबाट मुक्ति, प्रकृतिसँगको सामीप्य र सामुदायिक एकताको भाव अभिव्यक्त गर्ने सांस्कृतिक औवसर हो । यद्यपि यस्ता अभ्यासहरूलाई आधुनिक स्वास्थ्य र वातावरणीय सचेतनासँग पनि जोडेर अघि बढाउनु आवश्यक छ।
नेपालका चाडपर्व केवल धार्मिक अनुष्ठान मात्र होइनन्, तिनले सामाजिक सद्भाव, पारिवारिक सम्बन्ध, सहअस्तित्व र सामुदायिक एकतालाई पनि सुदृढ बनाउने माध्यमका रूपमा काम गरेका छन् । पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका यस्ता परम्परामा स्थानीय ज्ञान, जीवनशैली र प्रकृतिसँगको सम्बन्ध पनि गाँसिएको छ। बदलिँदो समयसँगै केही परम्पराको महत्व ओझेलमा पर्न थालेको देखिए पनि तिनको ऐतिहासिक, सांस्कृतिक र सामाजिक पक्षलाई बुझेर संरक्षण गर्नुपर्दछ ।
श्रावणले हामीलाई प्रकृतिप्रति सम्मान, आत्मसंयम, सदाचार र सामाजिक उत्तरदायित्वको सन्देश दिन्छ । त्यसैले यस महिनालाई केवल धार्मिक अनुष्ठानमा सीमित नराखी यसको सांस्कृतिक, सामाजिक र वातावरणीय महत्वलाई पनि आत्मसात् गर्न आवश्यक छ । आफ्ना मौलिक संस्कार र परम्पराको संरक्षण गर्दै तिनलाई समयानुकूल व्याख्या र अभ्यास गर्न सके मात्र हाम्रो सांस्कृतिक पहिचान अझ समृद्ध र जीवन्त बन्नेछ। यही नै हाम्रो सभ्यता, संस्कृतिप्रतिको सम्मान र भावी पुस्ताप्रतिको जिम्मेवारी पनि हो।
प्रतिक्रिया