नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष ६ महिनाको कैद

विहीबार, ३२ असार २०८३, १६ : ५१

काठमाडौं- नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष ६ महिनाको कैद र १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिबाना गर्ने फैसला गरेको छ।

विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ को इजलासले बिहीबार भ्रष्टाचार मुद्दामा पौडेललाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनिल पौडेलसहितका प्रतिवादीले ३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरेको थियो।

अदालतले आरोपित रकम बराबरको घुस बरामद नभएको, उक्त रकम कहाँ र कसरी राखिएको भन्ने पर्याप्त प्रमाण नदेखिएको उल्लेख गरेको छ। तर, मुद्दाको प्रकृति र प्रतिवादीको भूमिकालाई आधार मानेर सुनिल पौडेल र दीपक आनन्दलाई बिगोबमोजिम दामासाही हुने १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिबाना गर्ने फैसला सुनाएको हो।

अदालतले दुवै प्रतिवादीलाई ८ वर्षका दरले कैद सजाय तोकेको छ। सुनिल पौडेल भ्रष्टाचार भएको समयमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकसमेत रहेकाले उनलाई थप ६ महिना कैद सजाय निर्धारण गरिएको छ। यससँगै उनको कुल कैद सजाय ८ वर्ष ६ महिना पुगेको छ।

त्यस्तै, अदालतले सुनिल पौडेल र दीपक आनन्दबाट जनही ६ लाख १७ हजार ८ रुपैयाँ पीडित संरक्षण कोषमा जम्मा गराउन पनि आदेश दिएको छ।

विहीबार, ३२ असार २०८३, १६ : ५१

प्रतिक्रिया