सांग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, २३ असोज २०८३, १५ : २४

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभाले कुल १०।५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको साधारण सभा २०८३ असोज २२ गते बिहीबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न भएको हो ।

साधारण सभाले हाल कायम चुक्ता पुँजीको ६.५२६३ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ ।

बैंकको हाल कायम जारी तथा चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा रहेको छ । यसअनुसार बैंकले २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा नगद लाभांश र १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको बोनस सेयर वितरण गर्नेछ ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५ रुपैयाँ ७५ पैसा पुग्नेछ ।

साधारण सभाले आगामी चार वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ । संस्थापक सेयरधनीका तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्यामकुमार शर्मा चयन भएका छन् । त्यसैगरी, सर्वसाधारण सेयरधनीका तर्फबाट विष्णुप्रसाद ढकाल, कृष्णप्रसाद रेग्मी र भावना अग्रवाल सञ्चालकमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गर्नुका साथै लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र संशोधन तथा मर्जर र प्राप्तिसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकता दिँदै आएको बैंकले हाल देशभरका १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनमा सेवा विस्तार गर्दै ग्राहकलाई थप सहज र प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

शुक्रबार, २३ असोज २०८३, १५ : २४

प्रतिक्रिया