टिप्पणी

सन्दर्भ धान दिवस : अर्थतन्त्रमा धानको इतिहास र महत्व

सोमबार, १५ असार २०८३, १२ : २५

काठमाडौं - आज असार १५ ।  अर्थात् राष्ट्रिय धान दिवस  । यो वर्ष मनसुन प्रवेश ढिला भएको कारण खेतहरु अधिकांश बाँझै छन् । थोरै मात्र रोपाईं भएको छ । तर पनि आजको दिनको विशेष महत्व छ । नेपाली किसानहरुले यसलाई किसान दिवसको रुपमा लामो समयदेखि मनाउँदै आएका छन् ।  २१ वर्षअघि नेपाल सरकारले यस दिनलाई औपचारिक रुपमा धान दिवस घोषणा गरी मनाउन थालेपछि त यस दिनले थप चर्चा-परिचर्चा पाउने गरेको छ ।

धान नेपालको मुख्य खाद्य वाली हो । धान नेपालको इतिहास, यहाँको सभ्यता र संस्कृतिसँग गाँसिनुका साथै जीवनयापनको अभिन्न अंग रहेकाले हुनपर्छअसार १५ वा धान दिवस एक उत्सवका रुपमा रहेको छ ।

असार १५ वर्षाको सुरुवात्, मुख्य वाली धानको रोपाइँका साथै हाम्रो संस्कृति र सभ्यतासँग गाँसिएको महत्वपूर्ण दिन हो । यस दिनदेखि किसानहरु वर्षाको सुरुवात् भएको, आफ्ना कामको चापका दिन आएका, अनि समाजको प्रतिष्ठासँग जोडिएको सबैभन्दा मिठोमानीले खाद्यान्न धानको रोपाइँमा लाग्छन् । त्यही रोपाइँमा लाग्दाको खुशी र आनन्द अभिव्यक्त गर्ने एक सांकेतिक र सांस्कृतिक पर्व असार पन्ध्र बनेको छ ।

धान हरेक नेपालीको बालापन र संस्कृतिसँग जोडिएको छ । अहिले कृषि छाडेर जहाँ भए पनि हामीमध्ये धेरैको मानसपटलमा वालापन वा युवा अवस्थाका मीठा सम्झनाहरु नविर्सने गरी रहेका छन् । त्यो दिन दहि र चिउरा नखाएको, हिलोमा नखेलेको या रोपाई गीत नगाएको हामीमध्ये कमै हुनुपर्छ । त्यसैले त कृषकहरुको बाहुल्यता भएको नेपालमा अझै पनि असार १५ को रौनकता र चर्चा किसानमा मात्र सीमीत नभई सम्पूर्ण नेपालीमा छाउने गरेको छ ।

अहिले समय परिवर्तन भएको छ । त्यो रौनक, आनन्द र महिमा कम हुँदै छ । खेतिसँग गाँसिएको जनसंख्या घट्दो छ । खेति किसानीमा रमाउने र रोपाइगर्दैको बेला वाली भित्राउने समय सम्झदै रमाउने माहोल पनि कम भएको छ । धानको महत्व र भातलाई प्रतिष्ठा मान्ने प्रचलन पनि हट्दै छ । अझ असारे भाका, हिलो खेल्न र दहि चिउरा खान रमाउने प्रचलन पनि कम हुँदै छ ।

 धानको इतिहास र उत्पतिको सन्दर्भ निकै रोचक छ । धान खेतिको प्रारम्भ लगभग ६ हजार बर्षअघि एशियाको हिन्दकुश हिमालयको फेदमा भएको मानिन्छ । धान खेती एशियामा खेती प्रणालीसँगै भित्रेको दिगो बाली हो । त्यसैले एशियाली सभ्यता धानको खेतिको सुरुवात्सँगै अगाडि बढेको पाइन्छ । एशियाको निधिका रुपमा रहेको धानको नेपाल र भारतमा आर्यन सभ्यताको विकास भएकै समयमा खेति गरिएको इतिहास पाइन्छ । यसका साथै पूर्वि एशियामा पनि धान आजभन्दा करीव ३ हजार बर्षअघि नै खेति गरिएको इतिहास छ ।

आजका दिनमा हामीले कसरी नेपालको संस्कृति, खेतिपाती र धानको महिमासँग जोडिएको छ भन्नेबारे विष्लेषण गर्ने तथा आजको आवश्यकता, प्रतिकुलता र अवसरकाबारे छलफल र बहश चलाउन आवश्यक छ । असार १५ ले हामीलाई हाम्रो परिवेश र यहाँको एतिहासको बारेमा बताउँछ ।

खाद्य उत्पादकहरु, साना किसानहरु, भूमिहीन, ग्रामीण कामदारहरु, चरुवाहरु, पशुचारकहरु र मछुवाराहरु तथा ग्रामीण भेगहरुमा बस्ने मानिसहरुको मानवभैm सम्मानित जीवन छैनन्, अपहेलित छन्, सम्मान नगरिएका र मूलधार राजनैतिक आर्थिक प्रक्रियाहरुबाट बहिस्कृत छन् भन्ने विरोधाभाषलाई हृदयंगम गर्दै नेपालमा पनि छिट्टै किसान अधिकारको कानुन बनाएर तिनका अधिकार सुनिश्चित गर्ने राज्यको ध्यान जा जरुरी छ । 
नेपालमा विभिन्न चाडपर्व, रितिरिवाज, संस्कार तथा सामाजिक—सांस्कृतिक जिवनका विविध पक्षहरु प्रत्यक्ष गासिएको खाद्यबालीहरु मध्ये सवैभन्दा महत्वपूर्ण खाद्य बाली धानको संरक्षण गर्नु, बीउका विभिन्न प्रजातिहरुको विकासगर्नु र आफ्ना मान्यता अनुकुलको वातावरणमा खेती गर्नु आजको अर्को महत्वपूर्ण कार्यभार हो । असार १५ मनाइरहँदा यी कुरामा ध्यान जान जरुरी छ ।

धान एउटा यस्तो अचम्मको वनस्पति हो जुन पानीको अत्यन्त अभाव हुने मरुभूमिदेखि पानीले डुवेका सिमस्यार र समुन्द्र सतहदेखि ३ हजार मिटर उचाइको हिमालयको काखसम्म यसको खेति गरिन्छ । धान नेपाल र दक्षिण एशिया मात्र नभई पुरै एशिया महादेशको प्रमुख खाद्यवाली हो ।

विश्वको करीव ७ अरब जनसंख्या मध्ये धानलाई आफ्नो मुख्य आहारका रुपमा प्रयोग गर्नेको संख्या ३ अरव बढी छ । विश्वभरिको खेतीयोग्य जमीनमध्ये करीब १४ करोड ६० लाख हेक्टर भूमिमा धान खेती गरिन्छ । जसमध्ये १० प्रतिशत जमिन अत्यन्त उर्वर रहेको छ । धान सम्वन्धी अध्ययनका अनुसार संसारभरमा गत बर्ष करीव ५३ करोड ५० लाख टन धान वार्षिक रुपमा उत्पादन भएको तथ्यांक प्रस्तुत गरिएको छ । संसारको कूल धान उत्पादनको ९१ प्रतिशत हिस्सा एशियामा मात्र उत्पादन हुने गर्छ ।

यसलाई अझै बढी विश्लेषण गरेर हेर्ने हो भने यस मध्येको ५५ प्रतिशत धानको उत्पादन चीन र भारतका किसानहरुले मात्र गर्दछन् । एशिया बाहेक क्युवा, अमेरिका, अफ्रिका र यूरोपका विभिन्न देशमा पनि धान खेति गरिन्छ । यो एशियाको मुख्य बाली हो ।

एशिया धानको भण्डार हो । भारत, थाइल्याण्ड र भियतनाम प्रमुख निर्यातकर्ता हुन् भने चीन, नाइजेरिया, मेक्सिको, हाइटि आयात गर्ने राष्ट्र हुन् । एशिया बाहिर जम्मा उत्पादनको ९ प्रतिशत मात्र उत्पादन गरिन्छ । अफ्रिकाका म्याडागास्कर तथा सहारा आसपासको क्षेत्रमा पनि मुख्य खाद्य वाली धान हो ।

धानको उत्पति एशियाको हिन्दकुश हिमालय तथा चीनको नदी तटीय भागमा भएको र एशियामा खेती प्रणालीसँगै धान खेती भित्रेकोले एशियाली सभ्यता धान खेतिको सभ्यता पनि भनिन्छ । यसैका धान एशियामा स्थायी बसोबास, लिपी, संख्या, प्रथम शहरहरु तथा मानव समाजको नयाँ युगको प्रारम्भ भयो ।

 नेपालको संस्कृति र सभ्यतामा धानको अत्यन्त महत्व छ । हाम्रो लागि धान केवल खाना वा उपभोग्य बस्तु मात्र नभएर यो संस्कृति, पहिचान र इतिहाससँग गाँसिएको विषय हो । वेद लेखिनुपूर्व धान खेति गरिएको वेदमा उल्लेख छ । साली, ब्रिहि, सुका, सिमी र चुद्रा धान्य गरी पाँच जातका धानबारे रिगवेदमा उल्लेख छ ।

एशियाली जनताको प्रतिष्ठा कायम गर्न, धान हाम्रो जीवन संग गाँसिएकोले, खाद्य संप्रभुता कायम गर्न, जन्मँदा, मृत्युमा मात्र नभई हरेक चाडपर्व र परम्परामा धानको आवश्यकता पर्छ । त्यसैले धान खाद्य वालीको रुपमा पोषणका लागि मात्र नभई यसको चौतर्फी महत्वका कारण धानको संरक्षण गर्न आवश्यक छ ।

नेपालमा ६ हजार बर्ष देखि खेति गरिएको धान केवल मानिसहरुको दैनिक उपभोग्य बस्तुको रुपमा मात्र नभएर जनताको जीवन एवं जीवीकोपार्जनको आधारका साथै पौराणिक तथा साँस्कृतिक महत्वसँग पनि सम्वन्धित रहेको छ ।

तसर्थ नेपाल लगायत एशियाकै किसानहरुले आफ्ना परम्परागत, पौराणिक तथा सांस्कृतिक महत्वको सम्बन्धसँग गाँसेर जीवनको अभिन्न हिस्साका रुपमा यसलाई अंगीकार गर्दै आइरहेका छन् ।

नेपालमा मुख्य गरी धान असार र साउन महिनामा रोपिए पनि ठाउँअनुसार नेपालको धान खेतिलाई हामी चैते धान, बर्षे धान ९.(असारसाउनमा लगाइने), भदैया धान, पछिल्लो धान वा खरुहान, वोरो धान र हिमाली धान गरी भन्न सक्दछौं । हिमाली धान फागुनतिर रोपिन्छ भने वोरो धान मंसिर पुषमा रोपिन्छ ।

धान खेती परम्परागतवाट आधुनिक कृषि प्रणालीमा रुपान्तरण हुँदा नेपालमा जस्तै एशियाभर विभिन्न उत्पादनशील धानका प्रजातिको लोप हुँदै गैरहेका छन् । आधुनिक निगमिय खेतिले परम्परागत खेती प्रणाली र अनुवंशीय विविधताको द्रुत गतीमा क्षति गर्दै छ । यसले धान उत्पादन सँग जोडिएको सामाजिक सांस्कृतिक प्रणालीलाई कमजोर बनाउनुका साथै समुदायकोे अस्तित्व र धान खेतीको मौलिकता नाश गर्दैछ । जनसंख्या बृद्धि र धानको उत्पादनको बृद्धिलाई तुलना गर्ने हो भने यसले केहि समयपछि ठूलो अभाव सृजना गर्ने देखिन्छ । जहाँ धान मुख्य वालीको रुपमा छ त्यहाँकै जनसंख्या बृद्धि उच्च छ ।

नेपाली संस्कृतिमा भातको महत्व बढी छ । यसलाई विविधिकरण र सन्तुलितरुपमा उपभोग गर्न आवश्यक छ । कर्णालीमा भोकमरी र खाद्य संकट नभई सेतो चामल संकट भएको कुरा समय समयमा सार्वजनिक हुन्छ ।

विहान बेलुका भात खाने वानी शहरीया मध्यम वर्गलाई मधुमेह लगायतका रोगका कारण र ग्रामीण किसानलाई शक्ति र षोषणका कारण उपयुक्त देखिँदैन । नेपालमा यो वर्ष आयात भएको लगभक २९ अरवको मसिनो चामलले पनि भात संस्कृतिमा सुधार गरी खाद्यान्नमा विविधिकरण र पोषण सन्तुलनको अत्यावश्यकतालाई दर्शाउछ ।

 दिवशले धान बचाऔं अभियानलाई बलियो बनाउनुका साथै किसान अधिकार सुनिश्चित गर्ने तथा मल, विउ लगायतका किसानका तात्कालिक समस्या समाधान गर्दै खाद्य सम्प्रभुता प्राप्त गर्ने र कृषिको रुपान्तरण गर्ने लगायतका पक्षमा ध्यान आकृष्ट गर्न सफल रहोस् । असार १५, धान दिवश र किसान अधिकार दिवशको हार्दिक शुभकामना । 

सोमबार, १५ असार २०८३, १२ : २५

प्रतिक्रिया