मानिसको जीवन यात्रा हो । जन्मदेखि मृत्युसम्मको समय नै हाम्रो यात्रा हो । चराचर जगतका सवै प्राणीको साझा वासस्थान पृथ्वी हो। हामी यहाँ सधैँका लागि आएका होइनौँ। हाम्रो यात्राको समय निश्चित छ । यहाँ रहन्दा सम्म प्रकृतिका स्रोत–साधनको उपयोग गर्छौँ, आफ्ना कर्तव्य पूरा गर्छौँ र अन्ततः विदा हुन्छौँ। तर हामी नभए पनि पृथ्वी, प्रकृति र जीवनचक्र निरन्तर चलिरहन्छ। यही यथार्थलाई आत्मसात् गर्न सके मात्र पृथ्वीप्रतिको हाम्रो जिम्मेवारीको सही बोध हुन्छ।
पृथ्वी केवल मानिसको मात्र होइन, सम्पूर्ण चराचर जगतको साझा घर हो । मानिस, पशुपन्छी, कीरा–फट्याङ्ग्रा, वनस्पति र अन्य सबै जीव–जन्तुको यस पृथ्वीमा समान अस्तित्व छ। यस अर्थमा पृथ्वी एउटा धर्मशालाजस्तै हो, जहाँ आउने सबै यात्रु केही समयका लागि मात्र बस्छन्। जिम्मेवार यात्रुले धर्मशालाको सरसफाइ, संरचना र वातावरण जोगाउँछ, ताकि पछि आउने यात्रुले पनि सहज रूपमा त्यसको उपयोग गर्न सकून्। तर यदि कसैले त्यही धर्मशालाको भित्तो भत्कायो, फोहोर ग¥यो वा त्यहाँका सामग्री नष्ट ग¥यो भने त्यो गैरजिम्मेवार व्यवहार मानिन्छ। दुर्भाग्यवश, आज मानवले पृथ्वीप्रति यस्तै व्यवहार गरिरहेको छ।
विकास र सुविधाका नाममा वन फँडानी भइरहेको छ। नदी, ताल र मुहान प्रदूषित बन्दै गएका छन्। उद्योग, सवारीसाधन र अन्य मानवीय गतिविधिबाट निस्कने धुवाँले वातावरण विषाक्त बन्दै गएको छ। जलवायु परिवर्तनका असर संसारभर देखिन थालेका छन्। असमयको वर्षा, खडेरी, बाढी, पहिरो, तापक्रम वृद्धि तथा जैविक विविधताको ह्रासले प्रकृति गम्भीर संकटमा परेको छ। यी समस्या प्राकृतिले आफै निम्ताएको होईन मानवका असन्तुलित गतिविधिका कारण भएका हुन् ।
प्रकृतिले मानव लगायत सम्पुर्ण चराचर जगतका प्राणीलाई कुनै भेदभाव नगरी शुद्ध हावा, स्वच्छ पानी, उर्वर माटो, घाम, वन, नदी र जैविक विविधताजस्ता अमूल्य उपहार प्रदान गरेको छ । यी स्रोतहरू मानवले सिर्जना गरेका होइनन् बरु यी मानव अस्तित्वका आधार हुन्। मानिस बिना पनि प्रकृति आफ्नो लयमा चल्न सक्छ, तर प्रकृति बिना मानव सभ्यताको अस्तित्व सम्भव छैन। यति सत्य हुँदाहुँदै पनि मानिसले आफूलाई प्रकृतिको मालिक ठान्दै अन्धाधुन्ध दोहन गरिरहेको छ। वास्तवमा हामी मालिक होइनौँ, केवल अस्थायी यात्रु हौं ।
चराचर जगतका अन्य जीवहरूले आफ्नो प्राकृतिक धर्म पूरा गरिरहेका छन्। रूखले अक्सिजन दिन्छ, नदी निरन्तर बगिरहिन्छीन् मौरीले मह सङ्कलन गर्छ, चराले गुँड बनाउँछन् र पृथ्वीले अन्न फलाउँछ। उनीहरू आफ्नो स्वाभाविक जिम्मेवारीबाट विचलित हुँदैनन्। तर आफूलाई सबैभन्दा चेतनशील र विवेकशील ठान्ने मानव भने आफ्नै दायित्व बिर्सँदै गएको छ। यही कारणले जलवायु परिवर्तन, प्रदूषण, पानीको अभाव, प्राकृतिक विपत्ति र जैविक विविधताको विनाश दिनप्रतिदिन गम्भीर बन्दै गइरहेको छ।
पृथ्वीको संरक्षण केवल सरकार वा कुनै एक संस्थाका मात्र जिम्मेवारी होइन। यो प्रत्येक नागरिकको दैनिक व्यवहारसँग जोडिएको विषय हो। पानीको मितव्ययी प्रयोग गर्ने, वृक्षारोपण गर्ने, प्लास्टिकको प्रयोग घटाउने, फोहोरको उचित व्यवस्थापन गर्ने, वातावरणमैत्री जीवनशैली अपनाउने र प्राकृतिक स्रोतको संरक्षण गर्ने काम हरेक व्यक्तिले गर्न सक्छ। साना–साना प्रयासले पनि ठूलो परिवर्तन सम्भव हुन्छ।
स्थायी जिम्मेवारी वातावरण संरक्षणमा मात्र सीमित छैन। समाजमा सद्भाव कायम राख्नु, इमानदारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु तथा भावी पुस्ताका लागि स्वस्थ, सुरक्षित र सभ्य समाज निर्माण गर्नु पनि उत्तिकै महत्वपूर्ण दायित्व हो। आजका हाम्रा निर्णय र कर्मले भोलिको समाज निर्माण गर्छन्। त्यसैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितलाई प्राथमिकता दिनु पर्दछ।
हामी यहाँबाट जाँदा धन, सम्पत्ति, पद वा शक्ति केही पनि साथ लैजान सक्दैनौँ। तर हामीले छोडेर जाने वातावरण, समाज, संस्कार र मूल्यहरू भने भावी पुस्ताले प्राप्त गर्छन्। त्यसैले हाम्रो वास्तविक परिचय हामीले कमाएको सम्पत्तिले होइन, निभाएको जिम्मेवारीले निर्धारण गर्छ।
पृथ्वी हाम्रो पुर्खाबाट प्राप्त सम्पत्ति मात्र होइन, भावी पुस्ताबाट सापटी लिएको धरोहर पनि हो। त्यसलाई सुरक्षित राखेर आगामी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो नैतिक दायित्व हो। यदि हामीले यो जिम्मेवारी बिर्सियौँ भने हाम्रो यात्रा मात्र होइन, भविष्यका यात्रुहरूको यात्रा पनि संकटमा पर्नेछ।
त्यसैले हामी अस्थायी यात्रु भए पनि हाम्रो जिम्मेवारी स्थायी छ। पृथ्वीलाई सुरक्षित, स्वच्छ, हराभरा र जीवनयोग्य बनाइराख्नु नै मानव हुनुको सबैभन्दा ठूलो कर्तव्य हो। आफू मात्र बाँच्नु मानवताको परिचय होइन; आउने पुस्ताले पनि सम्मानपूर्वक बाँच्न सक्ने संसार छोडेर जानु नै साँचो सभ्यता हो। यही चेतना र जिम्मेवारीले मात्र पृथ्वीलाई दीगो, समृद्ध र जीवनमैत्री बनाइराख्न सक्छ
प्रतिक्रिया