काठमाडौं - नेपालमा जेनजी विद्रोहपछि राजनीतिक दलहरुमा स सानो भूकम्प आयो । अहिले भूकम्पका पराकम्पहरु कम हुँदै गएका छन् । तर फेरि कुनै दिन झन ठूलो भूकम्प नआउला भन्न सकिन्न । किनकी युवा पुस्ताले उठाएका मागहरु पुरा भएका छैनन् । पुरा गराउनेतर्फ कसैको ध्यान गएको पनि छैन । आन्दोलनको बलमा स्थापित भएको सरकार अनेक बहानाबाट भाग्न खोजिरहेको छ । मूलधारका भनिएका राजनीतिक दलहरु पनि केही दिन चुपचाप बसे पनि अहिले सतहमा पुरानै दम्भका साथ देखा परेका छन् । उनीहरु आफ्ना कमजोरीहरुको समीक्षा गर्ने र आफ्ना दलहरुलाई पुनर्गठन गर्न लागिरहेका छैनन् । बरु पुराना र थोत्रा भैसकेका नेताहरु आफ्नो पद जोगाउन अनेक नाटकहरुको मञ्चन गरिरहेका छन् ।
यो हप्ता यसै पनि कम्युनिष्ट पार्टीहरुको एकीकरणको कारण चर्चामा रहेको छ । प्रचण्ड र माधव नेपालको अगुवाईमा दस पार्टीबीचको एकता भनेर भृकुटीमण्डपमा एउटा समारोह गरियो । त्यस समारोहलाई नेपाली जनताले चासो त दिए तर एउटा कलाबिहीन नाटकको रुपमा । यो एकताको नाटक किन गर्नुपरयो भन्ने कुरा बिस्तारै खुल्दै जाला । तर त्यस समारोहको मञ्चमा बसेका नेताहरुको अनुहारले नै बताइरहेको थियो कि यो एउटा प्रहषण हो । ती अनुहारहरु पटक पटक परिक्षण भैसकेका छन् । उनीहरुले जे गर्न सक्थे गरिसके । अर्थात उनीहरुबाट देशले जे पाउनुपथ्र्यो पाइसक्यो । अब उनीहरुबाट केही प्राप्त हुनेवाला छैन । विचार, उमेर र कार्यशैली सबै हिसाबले पुराना मात्र होइन थोत्रा भैसकेका यी अनुहारबाट नागरिकले के आशा गर्न सक्लान् ? उनीहरुले अझै पनि समाजवादको सपना देखाउन सक्छन् ? उनीहरुबाट नागरिकले अझैं विकास र समृद्धीको आशा गर्नुपर्ने के आधारहरु छन् ?
यी कम्युनिष्ट नामधारी नेताहरु माक्र्सवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त भनिरहेका छन् । तर माक्र्सले विकास गरेको दर्शनको ठिक विपरित छन् यी मनुवाहरु । परिवर्तन माक्र्सवादको मूल आत्मा हो । प्रचण्ड लगायतका यी स्वनामधन्य नेताहरु जीवन र जगतमा हरेक चिज परिवर्तनशील छ भन्ने स्विकार्छन् । आफ्ना कार्यकर्ताहरुलाई पनि यही शिक्षा दिन्छन् । तर उनीहरु आफ्नो नेतृत्व (पद) परिवर्तन हुन्छ भन्ने स्विकार्न सक्तैनन् । हो, यही जडतामा बाँचेका यी थोत्रा अनुहारहरुले देखाएको समाजवादको सपनाको पनि कुनै अर्थ छैन । बरु उनीहरुको यो नितान्त स्वार्थ केन्द्रीत एकता फागुनको चुनावसम्म टिक्छ कि टिक्दैन भन्ने एउटा जिज्ञासको विषय हो ।
एकछिन पहिलेसम्म केपी ओलीसँग शरण पर्न गएका झलनाथ खनाल र एक करोड पार्टी सदस्य बनाउने भन्ने वामदेव गौतमहरु पनि भएको उक्त पार्टीको प्रहसनलाई नेपाली जनताले कति विश्वास गर्ने हुन ? जनताले चुनावमा कति भोट देलान् ? सबैको कौतुहलको विषय बनेको छ । वुद्ध देखि माक्र्ससम्मका दार्शनिकहरुले समाजको रुपान्तरण र विकासको लागि परिवर्तन अपरिहार्य तत्व हो भन्ने कुरा बताएका छन् । परिवर्तनको सम्बन्धमा बुद्धले यसो भनेका छन, ‘सबै वस्तु अस्थायी छन् । केही पनि स्थायी छैन । सबै पदार्थ, भावना, विचार र जीव निरन्तर परिवर्तन भैरहेका छन् । परिवर्तनबाट नै मुक्ति (निर्वाण) संभव छ । परिवर्तन नै जीवन र अस्तित्वको आधार हो ।’
माक्र्स, लेनिन र माओका अनुयायी ठान्ने प्रचण्ड लगायतका नेताहरु भने बुद्धवादी समेत बन्न सकेको देखिएन । बुद्धले परिवर्तन नै अन्तिम सत्य भने । तर प्रचण्डले आफू र आफ्नो परिवारको उन्नति नै अन्तिम सत्य ठानिरहेका छन् । उनी पनि हरेक बस्तु परिवर्तनशील छ भन्ने मान्छन् तर आफुनो नेतृत्व भने स्थायी हुन्छ भन्ने मानिरहेका छन् । उनको पछि लाग्ने भक्तहरु पनि प्रचण्डले जे गर्छन् त्यसैलाई सिद्धान्त मानिरहेका छन् । तर प्रचण्ड लगायत उनको पछि लागेका ‘आउट डेटेड’ नेताहरुले बुझ्नुपर्दछ, अब नेपाली जनताले काम नलाग्ने नेताहरुको नाटकको आसय जानिसकेका छन् । आजको पुस्ताले थोत्रा विचार र थोत्रा नेताको शासन चाहेको छैन । सबैको अपनत्व र स्वामित्व भएको समतामुलक राज्य चाहेको छ । जसको लागि दर्जनौं युवाहरुले ज्यान गुमाएका छन् । युवाहरुको रगतले सिंचित यो धर्तीमा अब गन्हाएका, कुहिएका र भ्रष्टाचारको कालो धनले थिचिएका नेता तथा पार्टीहरुलाई कुनै स्थान हुनेछैन ।
प्रतिक्रिया