काठमाडौं– जेनजी अभियन्ता एवं शहीद सन्ततीले नेकपा(माओवादी केन्द्र)को नाम, झण्डा, मार्गदर्शक सिद्धान्त र चुनाव चिन्ह यथावत राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
जेनजी अभियन्ता एवं शहीद सन्तती सन्दिप पुनले पार्टीको महाधिवेशन आयोजक समितिको नाममा नयाँ कार्यसमिति गठन नगरी एकता गरिएकाले नाम, झण्डा, मार्गदर्शक सिद्धान्त र चुनाव चिन्ह यथावत राख्न माग गर्दै शुक्रबार निवदेन दर्ता गराएका हुन् । निर्वाचन आयोगमा दर्ता गरिएको निवेदनमा आयोगको निर्णयले पार्टी जीवनमा प्रत्यक्ष असर पार्ने भएकाले त्यसमा पुनःविचार गर्न आग्रह गरिएको छ।
निर्वाचन आयोगमा पेश गरिएको निवेदनमा भनिएको छ, ‘माओवादी केन्द्र जनयुद्ध र आन्दोलनको जगमा आधारित ऐतिहासिक संगठन हो। यसले देशमा भएको परिवर्तनमा हजारौं शहीद र बेपत्ता परिवारको बलिदान छ, त्यसैले सो पार्टीको नाम, झण्डा, चिन्ह र मार्गदर्शक सिद्धान्त परिवर्तन वा विवादित बनाउने निर्णय आयोगले गर्नु अनुचित हुनेछ।’ उनले पत्रमार्फत आयोगलाई निष्पक्षता अपनाउन र दबाबमुक्त रही पार्टीको वैधानिकता र पहिचान सुरक्षित राख्न आग्रह गरेका छन् ।
माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग एकता गर्दै नेपाली कम्युनिष्ट पार्टी गठन गरेको छ । उक्त एकता प्रक्रियामा असहमति राख्दै नेताहरु जनार्दन शर्मा, राम कार्की लगायतले पार्टी पुनर्गठन गर्ने घोषणा गरेका छन् । सोही पार्टी पुनगर्ठनका पक्षधर रहेका जेनजी अभियन्ता एवं शहीद सन्ततीहरुले पार्टीको नाम र चुनाव चिन्ह यथावत राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

प्रतिक्रिया