प्रचण्ड निवास खुमलटारबाट सञ्चालित ‘वाररूम’ भक्तपुर सर्‍यो !

शुक्रबार, २१ कार्तिक २०८२, १६ : ००

काठमाडौं– तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट जनवर्गीय संगठन आइसीटी फोरमको गतिविधि र सञ्चार समन्वय गर्ने मुख्य ‘वाररूम’ अब अध्यक्ष प्रचण्डको निवास खुमलटारबाट भक्तपुर सारिएको छ । जेनजी आन्दोलनका क्रममा खुमलटारस्थित भवन र भेटघाट, कामकाजको कार्यालय आगलागी भएपछि भक्तपुरको एक होटलबाट काम भएको विश्वस्त स्रोतले जनाएको छ । 

यसअघि खुमलटारमा रहेको ‘वाररूम’लाई पार्टी अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रत्यक्ष सम्पर्कमा राखी, पार्टीका प्रचार सामग्री, डिजिटल अभियान र सामाजिक सञ्जालका रणनीतिहरू तयार पार्ने थलोका रूपमा प्रयोग गरिँदै आएको थियो । तर खुमलटारमा भएको आगलागीपछि नयाँ वाररूम भक्तपुरमा स्थापना गरेको हो, जहाँबाट अहिले डिजिटल प्रचारदेखि जनवर्गीय संगठनका समन्वयसम्मका काम भइरहेको बताइन्छ ।

भक्तपुरस्थित ब्लुमुन होमस्टे एण्ड रेष्टुरेन्टबाटै आइसीटी फोरमका गतिविधि पनि सञ्चालन भइरहेको छ । तर तीन महिनाभित्र केन्द्रीय समितिदेखि वडा तहसम्म फोरम विस्तार गर्ने निर्णय भएको दुई महिना बितिसक्दा पनि त्यसको संगठन निर्माणको कामको कार्यान्वयन भने सुस्त बनेको छ । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले भदौ १० गते जारी गरेको परिपत्रमा‘तीन महिनाभित्र संगठन विस्तार पूरा गर्ने’ भनिएको भए पनि हालसम्म ४१ सदस्यीय कार्यसमितिमा २९ जना मात्र रहेका छन् ।

फोरमका इञ्चार्ज औपचारिक रूपमा अग्नि सापकोटा भए पनि अहिले यसको सञ्चालन वर्षमान पुनले सम्हालिरहेको बताइन्छ । पार्टी स्रोतका अनुसार पुनले फोरमलाई प्रचण्ड नजिकको प्रचार सञ्जालका रूपमा प्रयोग गरिरहेका छन् । उनले हाल जनार्दन शर्माविरुद्धको प्रचारमा सक्रिय भूमिका खेलेको बताइन्छ ।

यस फोरमका रणनीतिक छलफल र सन्देश निर्माण कार्यमा राष्ट्रियसभाका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा जुगल  समेत सहभागी हुने गरेको स्रोतको दाबी छ ।

यसबारेमा प्रतिक्रिया लिन सम्पर्क गर्दा भक्तपुरमा उक्त होटल व्यवसाय सञ्चालन गर्दै आएका आइसीटी फोरम अध्यक्ष निर्मल ज्ञवालीले अहिले ‘जहाँबाट सम्भव छ त्यहीँबाट काम भइरहेको’ बताए । अहिले ओैपचारिक रूपमा कार्यालय नभएको जानकारी दिए । 

उनले यसबारे जानकारी दिदैं भने, ‘निकट भविष्यमै नयाँ बानेश्वर क्षेत्रमा सबै सदस्यलाई सहज हुने गरी स्थायी कार्यालय स्थापना गर्ने तयारी भइरहेको छ ।’

 
 
 
 
शुक्रबार, २१ कार्तिक २०८२, १६ : ००

प्रतिक्रिया