काठमाडौं– विप्लव नेतृत्वको नेकपाका केन्द्रीय नेता सुदर्शन मंगोलले फेसबुकमा नेपाली कम्युनिस्ट पार्टीका युवा नेता सरल सहयात्रीमाथि ‘रक्तचन्दन तस्कर’ भनेर आरोप लगाएपछि राजनीतिकवृत्तमा ठूलो चर्चा सुरु भएको छ ।
सहयात्रीलाई सोध्दा उनले आफू सिन्धुपाल्चोकको भएको कारण यस्तो आरोप लागेको बताए । उनले भने, ‘म सिन्धुपाल्चोकको हुँ, त्यसैले यस्ता कुरा निकालिन्छन् । मेरो घर, गाडी वा जीवनशैलीकै कारण हो भने त्यसको हिसाब म दिन तयार छु ।’
यसअघि सिन्धुलीका एक वैदेशिक रोजगारीमा गएका श्रमिक युवा सम्बन्धित मुद्दामा पनि सहयात्रीले धनाढ्य र विवादास्पद जनप्रतिनिधिको पक्ष लिएको आरोप लागेको थियो । वैदेशिक रोजगारीमा रहेका युवाकी श्रीमतीलाई जनप्रतिनिधिले फसाएको घटनामा पीडित पक्षले निसाफ माग्न जाँदा तत्कालीन माओवादी केन्द्रका बागमती प्रदेशका अध्यक्ष सहयात्रीले जनप्रतिनिधिको पक्ष लिएको आरोप लागेको थियो । त्यसपछि पीडित विदेश फर्किए ।
नेपाली कम्युनिस्ट पार्टीका अर्का नेता महेश्वर दाहालले राजनीतिलाई सेवा र जनताको हितका लागि प्रयोग हुनुपर्ने बताउँदै आएका छन । उनले भने, ‘राजनीति धन्दा होइन, सेवा हो । एकपटक क्रान्तिकारी भएकाले सधैं क्रान्तिकारी रहन्छ भन्ने सोच गलत हो । परिवर्तनका लागि निरन्तर खबरदारी गर्नुपर्छ ।’ प्रचण्ड नेतृत्वको माओवादीभित्र पनि धन आर्जन र अपारदर्शिताका आरोपहरू समय–समयमा उठ्दै आएका छन् ।
दाहालले यसबारे भने, ‘जसले अंगार खान्छ, उसले कालो दिशा गर्छ । पार्टीले सुधार नगरे जनताले नै कारबाही गर्छ । जेन्जी आन्दोलन, विद्रोहले त्यही सिकाएको छ ।’ पार्टीभित्रका नेतामाथि प्रश्न उठ्न थालेपछि साधारण कार्यकर्ता र जनतामाझ पनि असन्तोष बढ्दै गएको छ । तर, माओवादीका शीर्ष नेतृत्वले पारदर्शिता र जवाफदेहिता देखाउने कार्य अझै गरेको छैन । तिनै लुटमा जोडिएकालाई काखी च्यापिरहेको छ ।
यसबारे उनै महेश्वर दाहालसँग सोध्दा अब पनि शीर्ष नेताहरू नसच्चिने हो भने पार्टीप्रति जनविश्वास झन् घट्ने जोखिम बढेको भन्दै उनले जोड दिए, ‘माथि टाउको मिलाएर तल मिल्दैन । अभिव्यक्ति होइन आचरणमा परिवर्तन जनता र कार्यकर्ताले खोजेका छन् । यदि त्यसो हुँदैन भने भदौ २३ भन्दा ठूलो आँधी आउँछ, त्यसपछि यो प्रवृत्ति नराम्ररी बढारिन्छ । पार्टी क्रान्तिकारीकरण, शुद्धीकरणका लागि आवश्यक परेमा भित्रमात्र होइन, खुलेर वाहिरबाट पनि हस्तक्षेप अब बढाउनु पर्ने हुनसक्छ ।’
त्यत्रो घर र गाडी निशाना बनाउँदा पनि नेताहरूले त्यसको स्रोत के हो भन्ने बताए त भन्ने प्रश्नमा दाहालले भने, ‘नेताले नखोजे अब जनताले खोज्छन । जेनजी आन्दोलनपछि गलत गर्नेहरूको नैतिक बल गिरेको छ । अब तपाईंहरू जस्ता पत्रकारले यसबारे निरन्तर प्रश्न गरेर जनतालाई भन्नुपर्छ । नत्र दिशा र गोबरलाई एक ठाउँमा घुलमिल गराएर सबैलाई उहीँ ड्याङको मुला बनाउने समस्या बनेको छ ।’
प्रतिक्रिया