सुदन किरातीको जिल्लामा माओवादी छाड्नेको लर्को, सिंगै गाउँ कमिटीद्वारा पार्टी एकता अस्वीकार

मंगलबार, २५ कार्तिक २०८२, २१ : ०२

काठमाडौं- नेकपा(माओवादी केन्द्र) र एकीकृत समाजवादी लगायत दश स-साना वाम घटकको एकतामा सहभागी नभएर पार्टी छाड्ने माओवादी नेता कार्यकर्ताको संख्या दिनानुदिन बढिरहेको छ । माओवादी केन्द्रका निवर्तमान उपमहासचिव जनार्दन शर्मा सहितका नेताहरुले माओवाद र जनयुद्धकालीन विरासत त्यागेर पाटी अध्यक्ष प्रचण्डले एकता गरेको भन्दै पार्टी एकता प्रक्रियामा असहमति जनाएर प्रगतिशील अभियान नेपाल गठन गरेका छन् ।

पार्टी एकता प्रक्रियामा असहमत भएर उक्त प्रगतिशील अभियानमा सहभागी भएका सुदन किरातीको गृह जिल्ला भोजपुरमा समेत पार्टी एकता अस्वीकार गर्नेको संख्या बढ्दै गएको छ । आज मात्रै जिल्लाको रामप्रसाद राई गाउँपालिकाको माओवादी केन्द्र पार्टी कमिटीले एकता प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ ।

आन्तरिक पार्टी कमिटीलाई बलियो बनाउनुपर्ने बेलामा जनता र कार्यकर्ताको भावना विपरीत एकता गरिएको भन्दै रामप्रसाद राई गाउँपालिका कमिटी अध्यक्ष सुरेश चन्द्र राई, उपाध्यक्ष अमर राई, सचिव सोमकुमार राई, सह–सचिव विनोद मगर र कोषाध्यक्ष रमेश सुनारले एकता प्रक्रियामा सहभागी नहुने निर्णय गरेका हुन् ।

‘बदलिएको परिस्थितिमा आन्तरिक पार्टीलाई रुपान्तरणसहित बलियो बनाउनुपर्ने थियो । पार्टी एकताको नाममा आफ्नो विचार, इतिहास र पहिचान गुमाउने गरी गरिएको निर्णयले पार्टीको छवि माथि नै प्रश्न उठाएको छ। यस्तो एकता हाम्रो पार्टीको आधारभूत सिद्धान्त विपरीत भएकाले हामी त्यसप्रति गम्भीर असहमति जनाउँछौँ ।’, रामप्रसाद राई गाउँ पार्टी कमिटीका पदाधिकारीको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

 

मंगलबार, २५ कार्तिक २०८२, २१ : ०२

प्रतिक्रिया