काठमाडौं- माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समिति सार्वजनिक गरिएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ३५ सदस्यीय समिति सार्वजनिक गरिएको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका शर्माको पक्षमा पूर्वमन्त्री सुदन किराँती, गेहेन्द्र ढकाल, अरविन्द यादव, नारायणी शर्मा, जन्मदेव जैशी, विमला सिंह, निर्मला गौतमलगायतका नेताहरू छन् । अभियानले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छ ।
पूर्वमन्त्री किराँतीले फागुन २१ मा कुनै पनि हालतमा निर्वाचन हुनुपर्ने बताए ।
किरातीले नेपालमा असमानता, गरिबीको अन्त्य गर्न चाहनेहरुसँग एकता हुने बताए । नेपाली कम्युनिस्ट पार्टीसँग कुनै एकता नहुने उनको दाबी छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले समाजवाद, सहिदलगायतको नाममा आफ्नो स्वार्थपूर्ति गर्ने काम गरेको आरोप किराँतीले लगाए ।
‘नैतिकहीन अहंकारी नेताहरूलाई आगामी निर्वाचनमा जरैदेखि उखेलेर फाल्न आह्वान गर्दछौँ । देश र विदेशमा रहेका वामपन्थी प्रगतिशील अभियानमा जोडिन समेत आग्रह गर्दछौँ’, पत्रकार सम्मेलनमा किरातीले भने ।
सो क्रममा उनले अभियानको ७ बुँदे आह्वान समेत सार्वजनिक गरे, जुन यस प्रकार छ ।
१. भ्रष्टाचार विभेद र असमानताका मुख्य शत्रुमाथि विजय प्राप्त गरौँ ।
२.सांस्कृतिक समानतामा आधारित समाज निर्माण गरौँ ।
३. नेपाली राजनीतिको आधारभूत पुनर्संरचना गरौँ ।
४. सबै अग्रगामी आन्दोलनका सहिद घाइते, बेपत्ता योद्धाहरूको सपना पूरा गरौँ ।
५. जुनसुकै मूल्यमा निर्वाचनलाई सफल पारौँ । जनताको एकताको बलमा अहङ्कारी र असफल नेताहरूलाई सदाका निम्ति बिदा गरौँ ।
६. देशभित्र र बाहिर रहेका नेपालीहरूले सबै तहका प्रगतिशील राष्ट्रिय अभियान सम्पर्क समिति गठन गरौँ ।
७. जेनजी विद्रोहबाट स्थापित मुद्दाहरूलाई यथाशीघ्र पुरा गर्न गराउन चौतर्फी सक्रिय बनौँ । सुदृढ राष्ट्र सभ्य नागरिक बदलिँदो राष्ट्रिय शक्ति निर्माण गर्ने एजेन्डा सहित राजनीतिक पुनर्संरचना पुरा गर्ने प्रतिबद्ध हौँ ।



प्रतिक्रिया