काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीमा आवद्धता जनाएका पूर्व माओवादी केन्द्रका नेता महेश्वर दाहालले आफ्नै पूर्व पार्टी सम्बन्धित समूहमा एक सय ३८ जनाको केन्द्रीय समिति बनाएकोमा तीव्र असन्तुष्टिसहित टिप्पणी गर्दै वर्तमान राजनीति ‘पदीय दुरुपयोग, भ्रष्टाचार र विलासी संस्कृतिले थला परेको’भनेका छन् ।
दाहालले माओवादी केन्द्रका शीर्ष नेताहरूलाई लक्षित गर्दै भदौ २४ मा देखिएको राजनीतिक घटनाबाट कुनै पाठ नसिकेको दाबी गर्दै “पुरानो ढर्राबाट होइन, नयाँ सोचबाट अघि बढ्नुपर्ने” आवश्यकता अझ तीव्र भएको बताएका छन् ।
उनका अनुसार जेनजी आन्दोलनले उठाएका प्रश्नहरूले समाजमा चेतनाको नयाँ उचाइ बनाइसकेको अवस्थामा पनि पार्टी नेतृत्व सत्ता र राजकीय शक्तिको आडमा ती आवाजहरूबाट जोगिन खोजिरहेको छ । “समाज अब नयाँ चेतनामा उठिसकेको छ तर नेतृत्व पुरानै ढर्रामा अड्किएको देखियो,” दाहालले लेखेका छन् ।
दाहालले पछिल्लो समय राजनीतिलाई ‘धन्दा’ बनाउने प्रवृत्ति व्यापक भइरहेको बताउँदै यसको जिम्मेवारी शीर्ष नेताहरूमै जाने उल्लेख गरेका छन् । उनका अनुसार नेतृत्वकै कारण अर्को भदौ २४ भन्दा ‘भीमकाय नाटक’आउने संकेत देखिन थालेको छ ।
राजनीति सेवामुखी संस्कृतिमा फर्कनु अत्यावश्यक रहेको उल्लेख गर्दै दाहालले चेतावनी दिएका छन्, “यदि राजनीति सेवाको संस्कृतिमा फर्किएन भने जनताको वैकल्पिक ऊर्जा नै नयाँ मार्गचित्र कोर्नेछ, पार्टीभन्दा माथि, आचरणको राजनीतिमा, शब्द र कर्मको एकरूपतामा ।”
दाहालको टिप्पणी माओवादी केन्द्रभित्र पछिल्ला दिनहरूमा उत्पन्न आन्तरिक बहससँग मेल खान्छ । उनको यस अभिव्यक्तिलाई पार्टीभित्र जारी असन्तुष्टि र नेतृत्वप्रति बढ्दो अविश्वासको अर्को संकेतका रूपमा हेरिएको छ ।
प्रतिक्रिया