विमल अधिकारीले पनि छाडे प्रचण्डको साथ, प्रगतिशील राष्ट्रिय अभियानमा सक्रिय हुने घोषणा

आइतबार, ३० कार्तिक २०८२, ११ : ४६

काठमाडौं– विघटित नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा कोष तथा अर्थ विभाग उपप्रमुख विमल अधिकारीले पनि पार्टी परित्याग गरेका छन् । आइतबार एक विज्ञप्तिमार्फत उनले पार्टीका आधारभूत मूल्य मान्यता छाडेर प्रचण्ड नेतृत्वको माओवादी सहित करिब १० पार्टी मिलेर बनेको नेकपामा सामेल नहुने घोषणा गर्दै प्रगतिशील राष्ट्रिय अभियानमा सक्रिय हुने घोषणा गरेका हुन् ।

अधिकारीले प्रगतिशील राष्ट्रिय अभियान अन्तर्गत वैकल्पिक राजनीतिक धार निर्माणमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीभित्रको अस्पष्टता, मूल्यहीन गठबन्धनहरूमा निर्भरता र राष्ट्रहीत तथा युवापुस्ताको आकांक्षालाई बेवास्ता गर्ने प्रवृत्तिले उक्त पार्टीको भविष्य नरहेको उनको भनाइ छ ।  

उनले भनेका छन्,‘ आज वैश्विक राजनीति जेनजी विद्रोह पछिको नयाँ राजनीतिक चेतनातर्फ तीव्र गतिमा अघि बढिरहेको अवस्थामा नेपालमा पनि मूल्य, सिद्धान्त, पारदर्शिता, नवीन सोच र वैकल्पिक नेतृत्वको आवश्यकता ऐतिहासिक रूपमा बढेको छ । यही यथार्थलाई आधार मानेर म अब देश र जनताको हितमा नयाँ प्रगतिशील राष्ट्रिय अभियान अन्तर्गत वैकल्पिक राजनीतिक धार निर्माणमा निरन्तर, सक्रिय र दृढ रूपमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’  

प्रचण्डले पार्टीलाई एकीकृत समाजवादी लगायत अन्य वाम घटकहरुसँग एकता गरेपछि त्यसमा सहभागी नभएर पार्टी छाड्ने क्रम सुरु भएको छ । पार्टीको आन्तरिक एकतालाई लत्याएर मूलभूत सिद्धान्त परित्याग गर्दै पार्टी एकता गरेको भन्दै त्यसमा सहभागी नभएर यस अघि जनार्दन शर्मासहित राम कार्की लगायतका नेताहरुले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए । अहिले प्रचण्डसँग रहेका नेताहरु पार्टी एकता प्रक्रियामा असन्तुष्टि व्यक्त गर्दै सोही अभियान सामेल हुन थालेका छन् । 

 

 
 
 
 
 
आइतबार, ३० कार्तिक २०८२, ११ : ४६

प्रतिक्रिया