काठमाडौं–लामो समय गैरसंसदीय राजनीतिमा सक्रिय रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दलले अन्ततः संसदीय राजनीतिमा सहभागी हुने निर्णय गर्दै निर्वाचन आयोगमा दल दर्ता गराएर गुलाफको फूल चुनाव चिन्ह लिएको छ । विप्लवले निर्वाचन आयोगमा कम्युनिष्ट पार्टी, नेपाल नामक दल दर्ताका लागि निवेदन दिएपनि उक्त नामको दल पहिले नै रहेकाले पूर्ववर्ती नेकपा(माओवादी) नामक दल दर्ता गराएका छन् ।
उनले मंगलबार निर्वाचन आयोग पुगेर चुनावी प्रयोजनका लागि आफ्नै नेतृत्वमा जनयुद्धकालीन नेकपा(माओवादी) नामक दल दर्ता गर्दै चुनाव चिन्ह गुलाफको फूल लिएका हुन् । यो उनको संसदीय राजनीतिक अवतरण हो । यस अघि संसदीय व्यवस्था अस्वीकार गर्ने बताउँदै चुनाव बहिष्कार गर्दै आएको उनको दल निर्वाचन आयोगमा दर्ता गरिएको थिएन ।
तत्कालीन युद्धकालीन माओवादीका नेता रहेका विप्लव पार्टी शान्ति प्रक्रियामा आए पछि पनि संसदीय धार भन्दा बाहिर रहँदै आफ्ना गतिविधि अघि बढाएका थिए । तत्कालीन नेकपा(माओवादी)का नेता रहेका विप्लव पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रियपात्र थिए।
तर प्रचण्डले संसदीय राजनीति अंगीकार गरेर जनयुद्धका आदर्श छाडेको बताउँदै उनी पार्टी विभाजन गर्दै मोहन वैद्य किरणको नेतृत्वमा नयाँ दल बनाउन मुख्य भूमिका खेलेका थिए । त्यसको केही वर्षमै सोही विभाजित वैद्य नेतृत्वको दलमा समेत असहमति जाहेर गरेर अलग हुँदै आफ्नै नेतृत्वमा नयाँ दल गठन गर्न पुगे ।
त्यसपछि क्रान्ति गर्ने भन्दै एकीकृत जनक्रान्त्किो कार्यदिशा तय गरेर सशस्त्र गतिविधिमा समेत सक्रिय भए । त्यसक्रममा दर्जनौं नेता कार्यकर्ता राज्य पक्षबाटै मारिए । केही वर्षको भूमिगत जीवनपछि तत्कालीन केपी ओली सरकारसँग वार्ता गरी विप्लव फेरि शान्तिपूर्ण राजनीतिमा फर्किए ।
त्यसयता विप्लव नेतृत्वको दल कृषि क्रान्तिमा लागेको छ । आजभोलि उनको पार्टीका नेता कार्यकर्ता देशभर संस्थागत रुपमै कृषिमा जोडिएर उत्पादनतर्फ लागेका छन् ।
माओवादी जनयुद्ध हुँदै शान्ति प्रक्रिया पछि समेत एकीकृत जनक्रान्ति भन्दै सशस्त्र संघर्षमै जोड दिएका विप्लव कृषि उत्पादन हुँदै अहिले गुलाफको फूल मार्फत संसदीय राजनीतिमा फर्किएका छन् ।
यस अघि वैद्यबाट विभाजित भएर नेकपा माओवादी, नेकपा हुँदै अहिले निर्वाचन आयोगमा नेकपा(माओवादी)को नाममा दल दर्ता गराएका छन् । र, चुनाव चिन्ह समेत प्रेमको प्रतीक गुलाफको फूल रोजेका छन् ।
यसले विप्लवको विगतको क्रान्तिको मोह शान्तिमा परिणत हुँदै अहिले प्रेमको प्रतीक गुलाफको फूल लिएर रुपान्तरण भएको सन्देश दिन खोजेको छ ।
प्रतिक्रिया