काठमाडौं- नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसहित अन्य दश घटकसँग एकता गर्दै मार्गदर्शक सिद्धान्त माओवाद परित्याग गरेपछि पूर्वलडाकु कमाण्डरले त्यसलाई माओवादको औपचारिक विघटनको संज्ञा दिएका छन् ।
माओवादीको पूर्वजनमुक्ति सेनाका कमाण्डर रहेका विजय केसीले माओवादी विघटन अहिले प्रचण्डले औपचारिक रुपमै गरे पनि विगतदेखिका विघटनका श्रृंखलाहरु समेत बुँदागत रुपमा उल्लेख गर्दै त्यसको समीक्षा गर्नुपर्ने आवश्यकता औल्याएका हुन् । यसमा अन्य दोस्रो तहका नेताहरुको पनि भूमिका रहेको उनको भनाइ छ ।
युद्धरत माओवादी र राज्य पक्षबीच शान्ति सम्झौता भएको १९ वर्ष पूरा भएको अवसरमा उनले सामाजिक सञ्जालमार्फत सात बुँदे कमजोरी उल्लेख गर्दै जनयुद्धलाई राज्यकै पुजीका रुपमा संस्थागत गर्न किन असमर्थ भयौं ? भन्दै नेतृत्वमाथि प्रश्न गरेका छन् ।
‘जनयुद्धकालीन मुद्दामा अहिले पनि माओवादी नेता र कार्यकर्ताले किन दुःख पाइरहेका छन्? जिम्मा लिनु पर्ने होइन? अस्ति भर्खरै मात्र गरीएको कथित महान र ऐतिहासिक एकताबाट माओवादी पार्टीलाई पूर्णरुपमा विघटन गरीएको छ। र यो खेदजनक कार्य हो। अब माओवादी विरासतको नेताले त्यो पार्टीको नेतृत्व दोश्रो र तेश्रो होईन जुनिभरी पाउन सम्भव छैन। माओवादीलाई आतंककारीको विल्ला भिराएर दमन गर्नेहरू, अन्तर्राष्ट्रिय डाँका जस्ता अपमानजनक शब्द पुकार्नेहरूले हाम्रा माओवादी साथीहरूको नेतृत्व गर्नेछन् अनि हाम्रा ति जनयुद्धका महान शहीदहरू, घाइते अपाङ्ग योद्दाहरू, शहीद तथा वेपत्ता परिवारहरूले कस्तो खालको सम्मान पाउलान्?’,उनले प्रश्न गरेका छन् ।
साथै केसीले जनयुद्धका उपलब्धी उल्लेख गर्दै सरकारमा रहँदा जनयुद्धलाई अवमूल्यन गर्दै घाइते, अपांग, शहीद परिवार लगायतलाई उपेक्षा गरिएको गुनासो गरेका छन् । जनयुद्धका घाइतेहरुलाई अपमान गर्ने अवस्था सिर्जना भएको र युद्धका सेनाहरु आज अन्यत्र लाग्नुपर्ने बाध्यता भएको बताउँदै त्यसको जिम्मा नेतृत्वले लिनुपर्ने बताएका छन् ।
‘हाम्रो पार्टीको वर्चस्व रहेको पहिलो संबिधान सभाबाट हामीले गणतन्त्र नेपालको संविधान लेख्न किन सकेनौं ? तत्कालीन सेना प्रमुख रुक्मांगत कटवाल संगको पौठेजोरी आबस्यक थियो कि थिएन ? त्यहाँ कसको कमजोरी भएको हो ? सिङ्गै देशको राजनीतिक नेतृत्व गरेको लोकप्रिय र ठूलो दल २०७० को दोश्रो संबिधान सभाको निर्वाचनबाट तेस्रो स्थानमा झरी सकेपछि दुई वर्षमै संबिधान सभाबाट नयाँ संबिधान तयार पारिएको थियो, त्यो चाँही संभव भो किन? यो कसको निर्देशन र नेतृत्वमा भयो ?’,उनको प्रश्न छ ।
प्रतिक्रिया