काठमाडौं– तत्कालीन नेकपा(माओवादीले) राज्यसत्ता विरुद्ध सुरु गरेको जनयुद्धका क्रममा जनमुक्ति सेना गठन गरेको २४ वर्ष पुगेको छ । त्यस अवसरमा सोमबार देशभर माओवादीका पूर्व जनमुक्ति सेनाहरुले औपचारिक कार्यक्रम गरी जनमुक्ति सेना स्थापन दिवस मनाएका छन् ।
२०५८ मंसिर ८ मा गठित जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर पार्टी नेतृत्वमा रहेका पुष्पकमल दाहाल प्रचण्ड नै थिए । सोही जनमुक्ति सेना गठन गरेको युद्धकालीन माओवादी अहिले अनेकौं खेमामा विभाजित छ ।
तत्कालीन जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर प्रचण्डसहित अन्य चार जना डेपुटी कमाण्डरको भूमिकामा रहेका थिए । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, जनार्दन शर्मा ‘प्रभाकर’, वर्षमान पुन ‘अनन्त’ र चन्द्र खनाल ‘बलदेब’ जनमुक्ति सेनाका डेपुटी कमाण्डर हुन् ।
अहिले यी चार मध्ये तीन जना प्रचण्डसँगै रहेर नवगठित नेपाली कम्युनिष्ट पार्टी(नेकपा) तिर लागेका छन् भने जनार्दन शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)नामक दल गठन गरेर नयाँ राजनीतिक यात्रा आरम्भ गरेका छन् ।
विगतमा राज्यसत्तासँग लड्न गठन गरिएको जनमुक्ति सेना स्थापना दिवसको अवसरमा भने सर्वोच्च कमाण्डर प्रचण्डले कुनै स्मरण गरेनन् । उनले औपचारिक रुपमा समेत शुभकामना दिन आवश्यक ठानेनन् । साथै, अन्य प्रचण्डसँग रहेका तीन जना डेपुटी कमाण्डरहरुले पनि त्यस ऐतिहासिक दिनको स्मरण समेत गरेनन् ।
त्यही जनमुक्ति सेनाको बहादुरीपूर्वक लडाइँकै कारण माओवादीले शक्ति आर्जन गरेर सात दलसँग १२ बुँदे सम्झौता हुँदै शान्तिप्रक्रियामा आएको हो । त्यसपछि केही नेपाली सेनामा समायोजन, केहीले स्वेच्छिक अवकाश र अन्यले सक्रिय राजनीति रोजेका थिए ।
अहिले त्यसकै उपज बारम्बार सत्तामा पुगेका सर्वोच्च कमाण्डर प्रचण्ड र अन्य तीन डेपुटी कमाण्डरहरुले जनमुक्ति सेना स्थापना दिवसको अवसरमा त्यसको स्मरण गरेर शुभकामना सन्देश दिन समेत आवश्यक नठान्नुलाई जनमुक्ति सेनाको योगदानकै उपहासका रुपमा पूर्वजनमुक्ति सेनाका योद्धाहरुले चित्रित गर्न थालेका छन् ।
तर, परम्परागत कम्युनिस्ट पार्टीबाट रुपान्तरित भएर वाम प्रगतिशील चरित्रको प्रलोपा गठन गरी नयाँ राजनीतिक यात्रा आरम्भ गरेका जनार्दन शर्माले भने जनमुक्ति सेना स्थापना दिवसको शुभकामना दिँदै जनमुक्ति सेनाको औपचारिक घोषणा भएपछि नेपालमा राजनीतिक रुपान्तरणको नयाँ अध्याय शुरु भएको बताएका छन् ।
त्यसोत यसअघि पनि प्रचण्डसँग अलग्गिएपछि शर्माले जनयुद्ध र शहीद परिवारको पक्षमा निरन्तर लाग्ने बताउँदै शहीद सन्तती फाउन्डेसन नै आफूहरुसँगै रहेको बताएका थिए । उनै शर्माले जनमुक्ति सेना स्थापना दिवसको अवसरमा सोमबार शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते योद्धाहरुको उचित र सम्मानपूर्ण जीवनयापनको निम्ति बाँकी कार्यभार पूरा गर्ने संकल्प समेत गरेका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०५८ साल मंसिर ८ गते जनमुक्ति सेनाको औपचारिक घोषणा भएपछि नेपालमा राजनीतिक रुपान्तरणको नयाँ अध्याय शुरु भयो। यो दिवस जनयुद्धका मूल्य, शहीदहरूको बलिदान र सामाजिक न्यायप्रतिको प्रतिबद्धताको प्रतीक हो। शहीदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते एवम् अंगभंग भएकाहरूको उचित सम्मान र सम्मानपूर्ण जीवन यापन गर्नको निम्ति बाँकी कार्यभार पूरा गर्ने संकल्प सहित परिवर्तनका लागि समर्पित सबै योद्धाहरू प्रति सम्मान जाहेर गर्दछु । जनयुद्धमा साथ दिने सबैप्रति सम्मान अर्पण गर्दै जनमुक्ति सेना दिवसको हार्दिक शुभकामना!’
प्रचण्डले आफू नेतृत्वको माओवादीसहित अन्य ससाना दर्जनौं वाम घटक सम्मिलित एकता प्रक्रियामा सहभागी भएपछि त्यसमा असहमति जनाउँदै शर्मा अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका छन् । यद्यपि त्यसको नेतृत्वमा आफू नरहेर उनले नयाँ पुस्ताका युवाहरुलाई अघि सारेका छन् ।
पूर्ववत् पार्टीका नेताहरुले शर्मालाई गैरकम्युनिष्ट पार्टी गठन गरेको आरोप लगाइरहँदा पूर्व जनमुक्ति सेनाका डेपुटी कमाण्डर रहेका उनैले जनयुद्ध र जनमुक्ति सेनालाई स्मरण गर्दै घाइते योद्धाहरुको सम्मानपूर्ण जीवनयापनका लागि बाँकी कार्यभार पूरा गर्ने संकल्प गरेपछि माओवादी वृत्तमा खैलाबैला मच्चिएको छ । यसले माओवादी खेमाभित्र तत्कालीन सर्वोच्च कमाण्डर प्रचण्डसहित अन्य तीन जना डेपुटी कमाण्डरलाई कम्युनिष्ट आवरणको र शर्मालाई भने जनमुक्ति सेनाका योद्धाको चिन्ता लागेको भन्दै चौतर्फी व्यंग्य मिश्रित चर्चा सुरु भएको छ ।
प्रतिक्रिया