काठमाडौं– तत्कालीन नेकपा(माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित दर्जनौं वाम घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को कार्यक्रममा नेताहरुको कुर्सी मोहले रडाको मच्चिएको छ ।
बिहीबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी नेकपामा र जसपाबीचको पार्टी समायोजन कार्यक्रमको मञ्चमा आफूलाई आशन ग्रहण नगराएपछि नेता गोपाल किरातीले असन्तुष्टि पोखेका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र अर्का सहसंयोजक माधव कुमार नेपाललाई ध्यानाकर्षण गराउँदै अनावश्यक मान्छे मञ्चमा बस्ने प्रवृत्तिले नेतृत्वको शोभा घटाएर किनारा लगाएको उल्लेख गरेका हुन् ।
उनले लेखेका छन्, ‘संयोजक र सह–संयोजक समेत तीन पूर्व प्रधानमन्त्री मञ्चको अग्ररोहमा बस्नु स्वभाविक तथा आवश्यक थियो। तर, अरु कमरेडहरु खाँदाखाँद गरेर मञ्चमा कोच्चिएर बस्नु किन पर्दथ्यो? जसले गर्दा सभाका नायकहरुलाई विशुद्व ‘चँखे पात्र’ झैं किनारामा थन्क्याइयो? के यही हो, समाजवादी संस्कार? के यही चिन्तन प्रवृत्तिले ‘हाम्रै पुस्तामा’ समाजवाद? के समाजवादी समाजमा पनि यस्तै आत्मकेन्द्रित दम्भ, घमण्ड वा अहंकारकै राज्य हुनेछ? जसको जवाफ पार्टी केन्द्रीय समितिका प्रत्यक सदस्यले दिनुपर्छ।’
साथै उनले नेताहरुको सुरक्षाको नाममा कार्यकर्ताहरुले धकेलाधकेल र हुलहुज्जत गर्ने कार्यले गढिमाई मेलामा काट्न लाँदै गरेको राँगा घिसारे झैं देखिएको बताएका छन् ।
‘सभा समारोहको मञ्चमा नेतालाई लिएर आउदा जसरी हुलहुज्जत, जनता र कार्यकर्तालाई धकेलधाकेल, हप्की–दप्की गर्दै उद्दण्डता प्रदर्शन गर्ने जुन शैली छ, त्यो ठ्याक्कै गढिमाई मेलामा काट्न लाँदै गरेको राँगा घिसारे झैं देखिन्छ। नेताहरुको सुरक्षा हुनुपर्छ, खासगरी गणतान्त्रिक आन्दोलनका नायक क. प्रचण्डको विशेष सुरक्षा हुनुपर्छ ।’, उनले भनेका छन् ।
उनले नेताहरुलाई मञ्चमा ल्याउँदा शान्त र सौम्य तरिका अपनाउन मिल्दैन? भन्दै प्रश्न गरेका छन् ।
प्रतिक्रिया