काठमाडौं– नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को पूर्वमाओवादी खेमाभित्र नेता कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेर छुटेपछि आन्तरिक विवाद चर्किएको छ । पार्टीका अर्का नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठकै संलग्नतामा महरा पक्राउ परेका हुन् भन्ने चर्चा अर्को पक्षबाट चलाइएपछि माओवादी वृत्तमा खैलाबैला मच्चिएको हो ।
माओवादी उपमहासचिव वर्षमान पुन पक्षले श्रेष्ठमाथि प्रहरी संयन्त्रलाई दुरुपयोग गरेको आरोप लगाएको छ । पुनको सचिवालयले ‘सिद्धार्थ बनस्थली स्कुलमा नारायणकाजी श्रेष्ठका विद्यार्थी रहेका हालका सीआईबी प्रमुख एआइजी डा। मनोज केसीलाई प्रयोग गरी महरालाई गिरफ्तार गरिएको हो ।’ भनेको छ ।
भेपमा सुन तस्करी गरेको अभियोगमा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले असोज २६ गते पक्राउ परेका महरा उच्च अदालत, पाटनको आदेशले २० लाख धरौटी बुझाएर मंसिर ११ गते छुटेका हुन् । तर, राजनीतिक वृत्तमा उनको पक्राउलाई प्रहरीको स्वतन्त्र अनुसन्धानभन्दा पनि पार्टीभित्रको शक्ति संघर्षसँग जोडेर हेरिएको छ ।
एआईजी डा. मनोज केसी असोज ६ गतेमात्रै सिआईबी प्रमुखका रूपमा सरुवा भएका थिए । उनी श्रेष्ठका पूर्व विद्यार्थी भएको चर्चा पनि यही प्रसंगसँग जोडिएको छ ।
महरामाथि २०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले ७३ बट्टामा लुकाएर ल्याएको करिब ९ किलो सुन (मूल्य करिब ८ करोड ५५ लाख रुपैयाँ) विद्युतीय चुरोट ‘भेप’मार्फत तस्करी गरिएको प्रकरणमा संलग्न रहेको आरोप छ ।
सोही प्रकरणमा उनका छोरा राहुल महरा पनि थुनामा रहेर हाल जेलमुक्त भएका छन् । कृष्णबहादुर महरा यसअघि पनि २०८० चैत ५ गते कपिलवस्तुबाट पक्राउ परेर अनुसन्धानमा सहयोग गरिसकेका थिए । त्यसबेला जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा उनलाई रिहा गरेको थियो ।
डेढ वर्षपछि पुनः सोही मुद्दा पुनर्जीवित गर्दै सिआईबीले उनलाई पक्राउ गरेको थियो । पूर्वमाओवादी भित्र भने महरा रिहा भएपछि उनको पक्राउलाई ‘राजनीतिक बदला’को रूपमा हेरिएको छ ।
पार्टीका एक स्थायी समिति सदस्यका अनुसार, ‘महरामाथि लागेको आरोप कानुनी विषय हो, तर उनलाई गिरफ्तार गराउने प्रक्रिया राजनीतिक उद्देश्यले प्रेरित देखिन्छ ।’
यसैबीच, नारायणकाजी श्रेष्ठ पक्षले भने आफूमाथि लागेको आरोपलाई निराधार बताउँदै आएको छ । उनी निकट स्रोतले भन्यो– ‘सिआईबीले कानुनी आधारमा अनुसन्धान गरिरहेको हो, यसलाई राजनीतिक रूपमा रंगिनु उचित होइन ।’
तर, पुन पक्षले यो घटनालाई पूर्वमाओवादीभित्रको आन्तरिक शक्ति संघर्षको नयाँ मोडका रूपमा व्याख्या गरेको छ । महरा प्रकरणले पूर्वमाओवादीभित्रको अविश्वास र गुटबन्दी फेरि सतहमा ल्याएको छ । यसले पार्टी नेतृत्वका लागि आगामी दिनमा थप चुनौती सिर्जना गर्ने संकेत गरेको छ ।
प्रतिक्रिया