काठमाडौं - नेपालका कम्युनिष्ट पार्टीहरुकोबीचमा विभाजन र एकता कुनै नयाँ विषय होइन । २००६ सालमा पार्टी स्थापना भएपछि दोस्रो महाधिवेशनबाटै विभाजनको बीउ रोपिन थालेको पाइन्छ । सानो मतभेद हुनासाथ सँगै बस्न नसक्ने कम्युनिष्टहरुको विशेषता नै हो । अहिले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १२ दलबीच एकता भएको छ । तर यो एकता पनि कतिसम्म टिक्छ भन्ने दिनगन्ति पनि एकतासँगै सुरु भैसकेको छ ।
प्रचण्ड र माधव नेपालबीचको एकतालाई मूलतः व्यक्तिगत राजनीतिक अस्तित्व र सत्ताको समीकरणको खेलका रूपमा विश्लेषण गरिएको छ। यो एकताले माओवादी आन्दोलनको वैचारिक पहिचान संकटमा परेको र जनताले वास्तविक सामाजिक न्याय र परिणाम खोजिरहेको बताइएको छ।
जेनजी आन्दोलनपछि उत्पन्न कठिन राजनीतिक परिवेशमा यी दलहरु एकता प्रक्रियामा आएका हुन । आफ्नै दलभित्र पनि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको आवाज तीब्र भएपछि मुख्य नेताहरु आफ्नो पद सुरक्षित राख्न विकल्पको खोजीमा थिए । त्यही विकल्पमध्येकै यो एकता पनि रहेको छ । नेतृत्व परिवर्तनको आवाजलाई विषयान्तर गर्न एकताको नाटक मञ्चन गरिएको पनि टिप्पणी भैरहेको छ । तथ्यहरूलाई विश्लेषण गर्दा यसलाई बृहत् कम्युनिस्ट एकताभन्दा पनि मूलतः प्रचण्ड र माधव नेपाल बीचको एकता भन्न सकिन्छ।
माओवादी शान्ति प्रक्रियामा आएदेखि नै प्रचण्डले आफ्नो नेतृत्व जोगाउन र पार्टीभित्रको अल्पमतलाई निस्तेज पार्न वामपन्थी ध्रुवीकरणको नाममा एकता गर्ने रणनीति अपनाउँदै आएका थिए। अहिले आएर उनले हजारौंको योगदान र बलिदानलाई बिर्सने गरी माओवादी ब्रान्ड वा विचारलाई नै तिलाञ्जली दिएका छन्।
आफ्नो दलमा थोरै मात्र विकल्प बाँकी रहेका माधव नेपालले राजनीतिक सुरक्षाको लागि नयाँ दललाई आफ्नो ओत बनाउने निर्णयमा पुगेका हुन्। यसलाई प्रचण्ड–माधवको एकता भन्नु अतिशयोक्ति नहोला, जसलाई केही साना दल र समूहहरूले साथ दिएका छन्।
संसदीय राजनीतिमा यस प्रकारका एकता हुन्छन् नै । अहिले प्रचण्ड र माधव बीचको यो एकताले नेपाली राजनीति र माओवादी आन्दोलनमा उठेका प्रश्नहरूलाई अझ तीव्र बनाएको छ। नेपालको राजनीतिक इतिहास हेर्दा ‘एकता’ शब्द प्रायः वैचारिक मिलनभन्दा सत्ता–शक्ति पुनर्संयोजन र अवसरवादी गठजोड बन्ने गरेको छ। यो मिलनले पनि त्यही परम्परालाई दोहोर्याउने संकेत गरेको आशंका बलियो बनाएको छ। ठूलो र बलियो पार्टी बनाएर देश र जनताका समस्याहरुको समाधान खोज्ने भन्दा पनि सत्तामा पुग्ने माध्यमको रुपमा एकतालाई लिने गरिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमहरुलाई हेर्दा यस्तो नहोला भन्न पनि सकिन्न । किनकी प्रचण्डले मात्र होइन ओली र देउवाले पनि बिगतमा गैर सैद्धान्तिक गठबन्धनहरु गरिसकेका छन् । सत्ताको सिंढी चढ्न गरिने यस्ता एकता र गठबन्धनले समाधान भन्दा पनि सारमा समस्या निम्त्याएको अनुभव छ ।
समाज परिवर्तन गर्ने ठूलो अपेक्षा बोकेको माओवादी आन्दोलन आज आफ्नै पहिचान परिवर्तन गरी आत्मसमर्पण र विसर्जनको मोडमा आएको छ। माओवादी शब्द केवल एउटा संगठनको नाम मात्र होइन( यो हजारौं शहीदको बलिदान, गाउँका किसानको संघर्ष, उत्पीडित वर्गको आवाज र दशकौंको भोगाइको सार हो। जुन कुरा प्रचण्डले आफ्नो स्वार्थको राजनीतिमा सौदाबाजीको विषय बनाए ।
नेतृत्वको असन्तुलन र महत्त्वाकांक्षाले पार्टीलाई विचारभन्दा बढी व्यक्तिगत स्वार्थतर्फ संवेदनशील बनाएको छ। प्रचण्डको नेतृत्वपछि माओवादी आन्दोलन वैचारिक रूपमा कसरी दायाँ(बायाँ भयो भन्ने विश्लेषण गर्नु आवश्यक हुन्छ। आन्दोलनले परिवर्तनका लागि उठाएको आवाज नै अहिले नेतृत्वको स्वार्थ र सत्ताको लोभमा छोपिंदै गएको छ।
यो एकताको सन्दर्भमा प्रचण्ड र माधव दुवैको निजी आवश्यकता र राजनीतिक अस्तित्वको चिन्ताले ठूलो भूमिका खेलेको छ। प्रचण्डको ठूलो बन्ने चाहना, राजनीतिक पहिचान कायम राख्नुपर्ने दबाब र सत्ता नजिक रहन चाहने आकांक्षाले गर्दा माओवादी आन्दोलनले वैचारिक रूपान्तरणको सट्टा सत्ताको समीकरणको खेलमा आफूलाई बेचेको आरोप लगाउन सजिलो भएको छ।
कुनै प्रविधि कम्पनीले आफ्नो उत्पादन बन्द गर्दैन, बरू सुधारेर नयाँ संस्करण ल्याउँछ। त्यसैगरी, एक राजनीतिक आन्दोलनलाई पनि समयअनुसार वैचारिक स्वरूप र रणनीति अद्यावधिक गर्नुपर्ने थियो। तर, नेतृत्वले नयाँ भर्सन ल्याउने साहस र जनहितलाई केन्द्रमा राख्ने इमानदारी देखाएन। फलस्वरूप, माओवादी पार्टी ‘पुरानो एप’ जस्तो भयो- प्रयोगकर्ताको उत्साह घट्यो।
प्रचण्ड-माधवको एकताले राजनीतिक दलहरू वैचारिक रूपान्तरणको सट्टा सत्ता समीकरणमा केन्द्रित हुने पुरानो अभ्यासकै निरन्तरता देखाउँछ। जबकि जेनजी आन्दोलनले विचार, नेतृत्व र संगठनकै रूपान्तरण माग गरेको थियो।
माधव नेपालको यो राजनीतिक कदमलाई पनि औचित्यपूर्ण ठम्याउन मुस्किल छ। उनले आफ्नो व्यक्तिगत संकट समाधान गर्न ठूलै सम्झौता गरेका छन्। उनी सधैं सत्ताको गणितमा आफ्नो ठाउँ खोज्ने शैलीमा छन्। एमाले छाड्दा नयाँ बाटोको आशा गरिए पनि त्यो अन्ततः पुरानै शक्ति समीकरणभित्र विलीन भयो।
आजसम्मको इतिहासले एकताको नाममा हुने मिलन प्रायः अवसरवादी सावित भएको देखाएको छ । एकतामा सहभागी हुने दुवै पक्षले आफ्नो कमजोरी र घट्दो जनसमर्थन बुझेर एकता खोजिरहेका हुन्छन् । तर त्यो एकता विचारभन्दा आफ्नो राजनीतिक अस्तित्व बचाउने उपाय जस्तो देखिन्छ। नेताहरूले निर्णय गर्दा सिद्धान्त र जनहितलाई पछाडि राखेर व्यक्तिगत शक्ति सुरक्षा अगाडि ल्याउँछन् भने त्यस्ता एकताले दीर्घकालीन स्थायित्व वा जनहितप्रति साँचो योगदान दिन सक्दैनन्।
एउटा जिम्मेवार राजनीतिक दलले शहीदहरूको बलिदान र पीडालाई बेवास्ता गर्न मिल्दैन । शहीदको योगदान केवल राजनीतिक जितको मुद्धा मात्र बन्न सक्तैन । उनीहरूको सपना वास्तविक सामाजिक न्याय र समतामूलक संरचना थियो। नेतृत्वले ती आवाजलाई बेवास्ता गर्यो र उनीहरूको आह्वानलाई राजनीतिक उपकरण मात्र बनायो भने आन्दोलन आफैं खतरामा पर्छ। आज माओवादी आन्दोलनको त्यो गौरवमय इतिहास र शहीदको बलिदान विस्मृतिको खाडलमा धकेल्न खोजिएको छ ।
त्यसैले, प्रचण्ड र माधव लगायतका दलहरूको एकता अवसरवादको प्रतीक त बन्ने होइन भन्ने आशंका पनि जबर्जस्त रुपमा पैदा भएको छ । विचार र सिद्धान्तको पुनर्स्थापनाको विकल्पमा सत्ता र अस्तित्व संरक्षणको राजनीति अल्पकालीन र प्रतिक्रियात्मक हुन्छ भन्ने माक्र्सवादी दर्शनको मूलभूत मान्यता हो । यदि यी नेताहरूले साँच्चिकै माओवादी आन्दोलनको ऐजेण्डा र जनतालाई केन्द्रमा राखी नयाँ विचार र ठोस कार्यनीति लिएर आउन सके मात्र मात्र यसको सकारात्मक प्रभाव पर्नेछ । अन्यथा, यो एकता केवल नेताहरूको राजनीतिक अस्थायी शरणस्थल मात्रै बन्नेछ। यसले आन्दोलनलाई मूल लक्ष्यबाट विचलित पार्नेछ न कि समाजले खोजे जस्तो परिणाम। त्यस्तै जेनजि आन्दोलनको मर्मलाई पनि बेवास्ता गरेको र झुक्याएको रुपमा बुझिनेछ ।
प्रतिक्रिया