काठमाडौं - राजनीतिक आडमा कतिसम्म राज्य दोहन हुँदोरहेछ भन्ने प्रदीप अधिकारी पक्राउ प्रकरणले छर्लङ्ग पारेको छ । अधिकारी नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक हुन । एकपटक पूर्व नागरिक उड्डयन मन्त्री प्रेम आलेले भनेका थिए – ‘प्रदीप अधिकारीलाई महानिर्देशक बनाउनै मन थिएन । तर नयाँ पार्टी चलाउन पैसा चाहिने भएकोले पनि अधिकारीलाई नै महानिर्देशक बनाउनु पर्छ भनेर दबाब आएपछि नचाहँदा नचाहँदै पनि उनलाई नियुक्ति दिलाएको थिएँ ।’
प्रेम आलेपछि नेकपा माओवादीका नेता सुदन किराँती नागरिक उड्डयन मन्त्री बने । किराँतीले अधिकारीलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाएका थिए । तर अधिकारीले प्रचण्डकी छोरी गंगालाई हातमा लिएर प्रधानमन्त्रीसम्म कुरा मिलाए । अधिकारीलाई हटाउन खोज्दा सुदन किराँतीलाई नै तत्कालीन प्रधानमन्त्री प्रचण्डले हटाउन खोजे । अनि किराँती ब्याक भए ।
महानिर्देशक बन्न पार्टीलाई पैसा बुझाउने र राजनीतिक सेटिङ मिलाएर आफ्नो पद जोगाउने अधिकारी अहिले भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा भएको अनियमितता आरोपमा पक्राउ परेका छन् । नलिन्चोकमा हेलिप्याड प्रकरण त ट्रेलर मात्रै हो अधिकारीले पुरै फिल्म नै बन्न सक्ने दर्जनौँ काण्ड मच्चाएका छन् ।
पटक पटक मुलुकको प्रधानमन्त्री भैसकेको प्रचण्ड जस्ता नेता त भ्रष्टहरुको संरक्षणमा अनेक तिकडम गर्दारहेछन् भने अरुको के कहालत होला ? पैंसा देखे महादेवका तीन नेत्र भने झैं प्रचण्डले सरकार चलाउँदा के गरेनन् भन्ने यो एउटा सानो दृष्टान्त मात्र हो । प्रदीप अधिकारीलाई स्पष्टिकरण सोधेको कारण नै सुदनले मन्त्री पद गुमाएका थिए ।
प्रदीपकै कुरा सुनेर प्रचण्डले किरातीलाई मन्त्रीबाट बर्खास्त गरेको चर्चा त्यतिबेलै चलेको थियो । किराती पुनर्गठित मन्त्रिमण्डलमा नदोरिएपछि अधिकारीले भोजको समेत आयोजना गरेका थिए । उनले अन्तिम बयानका लागि चैत लाग्नासाथ अख्तियारले बोलाउन लागेको सुइको पाएपछि गोदावरीमा आर्थिक बिटका पत्रकारलाई तालिमको आयोजना गरी आफ्नो बचाउमा लाग्न समेत अनुनय विनय गरेका थिए ।
२ दिने उक्त आवासीय सो तालिममा व्यक्तिगत सम्बन्ध सुधार्न विभागको राम्रै खर्च भएको बताइन्छ । त्यति मात्र कहाँ हो र, अधिकारीले तालुक मन्त्रालयका सचिवलाई पनि २५ लाखको चारो फ्याँकेको गफ साथीहरूमाझ लगाउने गरेका थिए । सबै अपराध कर्ममा उनलाई प्रधानमन्त्री प्रचण्डका ज्वाइँ, कोशी प्रदेशका पूर्वमन्त्री जीवन आचार्यको राम्रै साथ रहेको बताइन्छ ।
प्रतिक्रिया