डलरको दाँजोमा भारु कमजोर हुँदा नेपालमा पर्ने असर

शुक्रबार, १९ मंसिर २०८२, १५ : १३

बिहीवार एक अमेरिकी डलरको सटही दर १४४ नेपाली रुपैयाँ पुग्दा अर्थतन्त्रका जानकारहरूले यसको सम्बन्ध अमेरिकाले भारतलाई लगाएको ट्यारिफसम्म रहेको बताएका छन्।

सन् २००० को ज्यानुअरी १ मा ७० रुपैयाँभन्दा कम रहेको अमेरिकी डलरको सटही दर २५ वर्षमा दोबर भएको छ।

डोनल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि उनले कैयौँ देशमा ट्यारिफ अर्थात् आयात शुल्क बढाएका थिए। यसअघि नै २५ प्रतिशत आयात शुल्क सामना गरिरहेका भारतीय उत्पादन अमेरिका आयातका लागि ट्रम्पले थप २५ प्रतिशत आयात शुल्क रुसबाट तेल किने बापत लगाएका थिए।

जसका कारण अमेरिकामा हुने भारतीय निर्यात ठूलो मात्रामा घटेको र त्यसको असर भारतीय रुपैयाँमा परेको भारतीय अर्थविद्हरूले बताएका छन्।

अहिले अमेरिकाको कडा नीतिका कारण डलरका तुलनामा भारतीय रुपैयाँ कमजोर भएको नेपाल राष्ट्र ब्याङ्कका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री पनि बताउँछन्।

‘भारतको मुद्रा कमजोर हुनुमा एउटा ट्यारिफ पनि हो। त्यसमा अरू नीति पनि जोडिएका छन्,’ क्षेत्री भन्छन्।

भारतले सन् १९९० को दशकदेखि आफ्नो विनिमय दर बजारमा आधारित गरेको नेपाल राष्ट्र ब्याङ्कका पूर्व डेप्यूटी गभर्नर नरबहादुर थापा बताउँछन्।

‘अमेरिकाले लगाएको ट्यारिफको प्रभाव, जसको फलस्वरूप निर्यात घटेको अवस्था र प्रत्यक्ष वैदेशिक लगानी कम भएका कारण भारतीय रुपैयाँको बजार मूल्य तलमाथि भएको छ,’ थापा भन्छन्।

‘नेपालले भारुसँग स्थिर विनिमय दर प्रणाली अवलम्बन गरेका कारणले नेपाली रुपैयाँको डलरसँगको मूल्य तलमाथि भइरहन्छ।’

डलरको तुलनामा निरन्तर घटिरहेको भारतीय रुपैयाँ पछिल्लो एक महिनायता मात्रै १.३५ प्रतिशतले घटेको छ र अहिले एक अमेरिकी डलरको भारतीय रुपैयाँमा सटही दर ९० भारु पुग्न लागेको छ।

गत आर्थिक वर्षमा डलरको तुलनामा भारतीय रुपैयाँ ८४.२२ को विन्दुमा पुगेको थियो। पाँच वर्षअघि सन् २०२१को ज्यानुअरिमा डलरको तुलनामा भारु ७२ को न्यून विन्दुमा थियो।

‘कसैले स्थानीय मुद्रा बापत विदेशी मुद्रा माग्यो भने दिन सक्ने क्षमता हुनुपर्छ भन्ने मान्यता छ। तर हामीसँग त्यो क्षमता छैन र भारतले पनि त्यसको विकास गरिसकेको छैन,’ निर्यात घट्दा भारु कमजोर हुनुको कारणबारे पूर्व गभर्नर क्षेत्री भन्छन्।

नेपालको व्यापार ६२ प्रतिशत भन्दा धेरै भारतसँग हुने भएका कारण पनि नेपाली रुपैयाँको सटही दर भारुमा निर्भर रहने जानकारहरू बताउँछन्। नेपालमा भारतीय रुपैयाँ पनि पर्याप्त नभएका कारण भारतसँग समेत डलरमा व्यापार गर्नु पर्ने अवस्था रहेको क्षेत्रीको बुझाइ छ।

भारुसँग नेरुको साइनो किन तोड्न सकिन्न ?

विगत पाँच वर्षदेखि अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ लगातार घटिरहँदा भारतसँग स्थिर विनिमय प्रणाली कायम गरेको नेपाली रुपैयाँ पनि कमजोर बनिरहेको छ। स्थिर विनिमय दरका कारण भारु बढे नेपाली रुपैयाँ पनि बढ्छ, घटे घट्छ।

‘सटही दर बजारले नतोकी सरकार वा राष्ट्र ब्याङ्कले तोक्ने पूर्व निर्धारित विनिमय दरलाई स्थिर विनिमय दर भनिन्छ,’ थापा भन्छन्।

नेपाली रुपैयाँले भारतीय रुपैयाँसँग स्थिर विनिमय प्रणाली अवलम्बन गरेको २०१७ साल वैशाख १ गतेदेखि हो। त्यस बेलादेखि १०० भारु बराबर १६० नेपाली रुपैयाँको स्थिर विनिमय दर कायम छ।

त्यतिखेर पनि १०० भारु बराबर १६० नेपाली रुपैयाँकै दर कायम गरियो। पछि विभिन्न समयमा त्यो दर १०१, १३५, १४२, १७०, १६८ बनाइयो तर फेरि अहिले निकै लामो समयदेखि उक्त दर १६० मै कायम छ।

अहिले उक्त विनिमय दर हेरफेर गरे नेपाललाई नै घाटा हुने अर्थतन्त्रका जानकारहरू बताउँछन्। पूर्व गभर्नर क्षेत्रीका अनुसार अहिले भारुसँग विनिमय दर हेरफेर भए १०० भारुको २२० नेपाली रुपैयाँ जस्तो हुनसक्ने आकलन गरिएको छ।

अहिले नेपाली रुपैयाँ डलरसँग कमजोर भइरहेको जानकारहरू बताउँछन्। त्यसो भए भारतसँग कायम स्थिर विनिमय दरको प्रणाली अन्त्य गर्दा नेपाललाई फाइदा हुन्छ त ? पूर्व गभर्नर क्षेत्री र डेप्यूटी गभर्नर थापा दुवै जना त्यसो गर्दैमा नेपाललाई फाइदा नहुने बताउँछन्।

‘अहिले नै खुला छोड्ने हो भने १०० भारुको २२० भन्दा घटी हुँदैन,’ उनी भन्छन्।

‘जबसम्म हाम्रो अर्थतन्त्र बलियो बनाएर निर्यात र सेवाबाट द्विपक्षीय रूपमा सन्तुलन ल्याउन सक्दैनौँ। त्यस बेलासम्म दुवै पक्षले स्थिर विनिमय दर कायम राख्नु अनिवार्य जस्तो देखिन्छ।’

नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको २५ प्रतिशतसम्म रहेका कारण भारतसँग स्थिर विनिमय दर कायम नभएको भए नेपाली रुपैयाँ थप कमजोर हुने सम्भावना रहेको अर्थतन्त्रका जानकारहरू बताउँछन्।

‘आयात निर्यातको हिसाबले हेर्ने हो भने नेपाली रुपैयाँ बलियो हुने कुनै कारण छैन,’ थापा भन्छन्।

‘यदि स्थिर विनिमय दर नभएको भए नेपाली जनताले धेरै दुःख पाउँथे। पेट्रोलियम पदार्थको मूल्य आकासिन्थ्यो अनि पाकिस्तान र श्रीलङ्का जस्तो मूल्य बढी हुन्थ्यो। विनिमय दरको कारणले मूल्य वृद्धि भएको छैन गरिब जनतालाई यसले राहत भएको छ।’

नेपालमा विप्रेषणका कारण मात्रै विदेशी मुद्राको सञ्चिति उल्लेख्य रहेको पूर्व ब्याङ्करहरू बताउँछन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि भारतसँग स्थिर विनिमय दर कायमै राखेर जान नेपाललाई सुझाव दिने गरेको नियामक निकायका पूर्व अधिकारीहरूले बताएका छन्।

भारतमा यो वर्ष आठ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरिएको छ। खुला सीमाना जोडिएको छिमेकी राष्ट्र विश्व अर्थतन्त्रका रूपमा उदाउँदा त्यसको आर्थिक फाइदा लिन नेपालले पनि आर्थिक सुशासन र संस्थागत सुधार गर्नुपर्ने अर्थविद्‌हरूको बुझाई छ।

‘त्यहाँका कम्पनीहरू नेपाल नआउँदासम्म भारतले जतिसुकै राम्रो गरे पनि नेपालले लाभ पाउने देखिँदैन,’ थापा भन्छन्।

बीबीसी न्यूज नेपाली 

शुक्रबार, १९ मंसिर २०८२, १५ : १३

प्रतिक्रिया