रुकुम पश्चिममा प्रभाव देखाउने होडबाजी

रुकुममा जनार्दनको विरोधका लागि नेकपाको जिल्लाभर उर्दी, १० जना पनि उपस्थित भएनन्

आइतबार, २१ मंसिर २०८२, १२ : ११

काठमाडौं– गृह जिल्ला पश्चिम रुकुममा तत्कालीन माओवादीको बलियो पकड बनाएका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले पूर्ववत पार्टी छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)गठन गरेपछि त्यहाँको विरासत जोगाउन दुबै पक्षको हानाथाप सुरु भएको छ  । शर्माको प्रभाव जिल्लामा अहिले पनि कायमै रहेपछि साविक माओवादी केन्द्रका नेताहरुले विगतको प्रभावलाई आफ्नो प्रतिष्ठाको रुपमा लिँदै बर्चस्व आफ्नै पक्षमा रहेको देखाउन भगीरथ प्रयत्न गरिरहेका छन् । 

यसैबीच नयाँ पार्टी प्रलोपा गठन गरेपछि शर्मा पहिलो पटक आइतबार गृह जिल्ला रुकुम पुगेका छन्। शर्मा रुकुमको सल्ले विमानस्थलबाट बाहिरिँदै गर्दा माओवादी केन्द्र समाहित भएको नवगठित नेपाली कम्युनिष्ट पार्टी(नेकपा)नेकपा समर्थित केही युवाले कालोझण्डा देखाएर नाराबाजी गरेका थिए । रुकुम पश्चिमका पूर्वमाओवादी नेताहरुले नवगठित नेकपाको प्रभाव रहेको देखाउन शर्माविरोधी गतिविधि गर्न खोजे पनि पहिलो गासमै ढुंगा लागेको रुकुममा चर्चा सुरु हुन थालेको छ । 

साविक माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्ष रहेकी विमला केसी, अर्का नेता गोपाल शर्मा अनल र जिल्ला इन्चार्ज बसन्त शर्माले जिल्लाभरका नेता कार्यकर्तालाई जनार्दन शर्माको जिल्ला आगमनमा अवरोध गर्न निर्देशन जारी गरे पनि उल्लेख्य उपस्थित हुन नसक्दा अर्को पक्षको शर्मालाई कमजोर देखाउने पहिलो प्रयास नै असफल हुन पुगेको हो । 

रुकुमका एक पूर्वमाओवादी नेताका अनुसार जिल्लाका नेताहरु विमला केसी, गोपाल शर्मा अनल र बसन्त शर्माले जिल्लाभरका नेता कार्यकर्तालाई आफ्नो शक्ति देखाउनका लागि शर्माका्े विरोधमा उपस्थित हुन निर्देशन जारी गरेपनि सहभागिता न्यून देखिएपछि अहिले समीक्षामा जुटेका छन् । यसले शर्मा आफ्नो गृह जिल्लामा कमजोर नरहेको र पूर्ववत पार्टीका नेता कार्यकर्ता र जनसमर्थन उनकै पक्षमा अहिले पनि रहेको आजको विरोधमा कार्यकर्ताहरुको उपस्थितिले प्रष्ट पारेको उनले बताए । 

ती नेताले भने, ‘जिल्लामा जनार्दनको प्रभाव नरहेको देखाउन विरोध प्रदर्शनका लागि व्यापक गृहकार्य गरिएपनि करिब १० जना जतिका अराजक युवा मात्रै उपस्थित भएपछि पूर्व योजना असफल भएको निष्कर्ष निकाल्दै पार्टीमा समीक्षा सुरु भएको छ । ’ 

यता, प्रलोपाका नेताहरुले आफ्नै गृहजिल्लामा शर्मामाथि भएको व्यवहारको भत्र्सना गरेका छन् । पार्टीका केन्द्रीय सदस्य आरपी न्यौपाने नरेशले शर्मामाथि कालोझण्डा देखाएर गरिएको विरोधलाई कायर मानसिकताको उपजको संज्ञा दिएका छन् । उनले  यसलाई गुण्डागर्दी शैलीको प्रर्दशन भन्दै भनेका छन्, ‘कायर मानसिकतामा अराजक र नैतिकहिन चरित्र र ब्यवहारको कु राजनीतिक सँस्कार प्रर्दशन गरिनु पतन अघिको गुण्डागर्दी प्रर्दशन हो यो अब जनताले प्रष्ट बुझ्न पाउनेछन् ।’

 

 
 
 
 
 
आइतबार, २१ मंसिर २०८२, १२ : ११

प्रतिक्रिया