काठमाडौं - नेपालमा माओवादका नाममा सशस्त्र संघर्ष भएको तीन दशक पुरा भएको छ । यो बीचमा मुलुकले ठूला ठूला राजनीतिक उथलपुथलहरुको सामना गरेको छ । क्रान्तिको लागि लडेको एउटा संगठित समूह (माओवादी पार्टी) विभिन्न चिरामा विभाजन भएको छ । हिंजो सँगै लडेकाहरु आज एकले अर्कालाई सिध्याउने अवस्थामा पुगेका छन् । उतिबेला देखेका क्रान्तिका रुमानी सपनाहरु अपहरित भएका छन् ।
जनयुद्धका सबै ऐजेण्डा र विरासत सबै पूर्व माओवादीहरुले पूर्ण रुपमा परित्याग गरिसकेका छन् । ती मध्ये सबैभन्दा अगाडि प्रचण्ड नै देखिएका छन् । उनले आफ्नै नेतृत्वमा भएको विद्रोहको कुनै पनि अवशेष बाँकी नराखेर विसर्जन गरिसकेका छन् । २०७४ मा केपी ओलीसँग एकता गर्दा नै उनले माओवाद नामको फुर्को हटाउन सहमत भएका थिए । त्यति मात्र होइन उनी सम्पूर्ण रुपमा संसदीय व्यवस्थामा समाहित भएका हुन । अहिले माधव नेपालसँग एकता गर्दा त उनीसँग आफ्नो पूर्व पार्टीको कुनै पनि मुद्धाको निरन्तरता देखिदैन ।
प्रचण्डले पूर्व एमालेहरुलाई बहुमतमा राखेर पार्टी विलय गराएपछि केही नेताहरु उनीसँग गएनन् । उनीहरुले पनि अलग धारको राजनीतिक दल घोषणा गरेका छन् । जनार्दन शर्मा, राम कार्की र सुदन किराँती लगायतका पूर्व माओवादी नेताहरुले प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका छन् । उनीहरु पनि मध्य वामपन्थी धारको राजनीतिक दल निर्माणमा लागेको देखिन्छ । उनीहरुको कदमलाई प्रचण्डपक्षधरहरुले न्वारानदेखिको बल लगाएर बिरोध गरिरहेका छन् । उनीहरुले जनार्दन शर्मालाई पार्टी छोडेर गएको आरोप लगाइरहेका छन् । त्यही भएर रुकुममा उनलाई कालो झण्डा देखाएको दाबी गरेका छन् । जनार्दनले नै एउटा राजनीतिक हैसियत बनाइदिएका कनिष्ट नेताहरुले उनलाई धोकेबाज भनिरहेका छन् । जुन हास्यास्पद छ । उनीहरुले नेता मानेका प्रचण्डले त उहिल्यै माओवादी क्रान्तिको झोला मिल्काइसकेका हुन । उनीसँग न जनयुद्धका ऐजेण्डा छन् । न त माओवादको दार्शनिक बिरासत नै बाँकी छ । उनी कसरी फेरि प्रधानमन्त्री बन्न सकिन्छ भन्ने एकोहोरो ध्याउन्नमा छन् । त्यसको लागि उनले आफ्नो पार्टी नै पूर्व एमालेहरुलाई जिम्मा लगाइसकेका छन् । उनले चुरीफुरी देखाए भने माधव नेपालको समूहले पार्टीबाट निकाल्नेछ ।
प्रचण्डमा सत्ताको भोक कति छ भन्ने त जेनजि आन्दोलनको सेरोफेरोमा देखिएकै हो । उनी मुलुक बिध्वंश भएकोबेला पनि प्रधानमन्ँत्री बन्ने दाउमा अनेक शक्तिकेन्द्रलाई गुहारेको समाचार आएकै हो । तसर्थ, अझै पनि प्रचण्डलाई क्रान्ति नायक देख्ने भ्रम पालेका कार्यकर्ताहरुलाई कठै मात्र भन्न सकिन्छ । नाम मात्र चाहिएको भने त प्रचण्डका सबै कार्यकर्ताहरु विप्लवको पार्टीमा प्रवेश गरे हुन्छ नि । उनले पार्टीको नाम नेकपा(माओवादी) राखेका छन त । त्यसैले कुनै पनि राजनीतिक दल वा विचार आजको युग सुहाउँदो हुन जरुरी छ । नाम कम्युनिष्ट पार्टीको राख्ने तर काम पूँजिवादी भन्दा पनि घटिया गर्ने । यसको कुनै अर्थ हुँदैन । यो जनता र कार्यकर्तालाई मूर्ख बनाउने काम मात्र हो । समाज परिवर्तनको लागि पुराना विचार र सिद्धान्तहरुलाई एउटा सन्दर्भ सामग्रीको रुपमा प्रयोग गरिनु स्वभाविक होला । तर तिनीहरुको अन्धानुकरणले कही पनि पुग्न सकिदैन । कम्युनिष्ट दर्शन र मान्यतामा नेपालका कुन कम्युनिष्ट पार्टीहरु चलेका छन् र ? यो सब ढोंग र जनतालाई बेबकूफ बनाउने हर्कत मात्र पुष्टि भएको छ । त्यसैले सिद्धान्तको रटान लगाएर मात्र आजको समाज अघि बढ्न सक्तैन । सिद्धान्त जीवनको लागि हुनु पर्दछ नकि सिद्धान्तको लागि जीवन ।
दश वर्ष प्रचण्डको नेतृत्वमा चलेको सशस्त्र संघर्षको परित्यागको सिलसिला १२ बुँदे समझदारीबाट नै भैसकेको हो । नेपाली कम्युनिष्ट पार्टीको गठनपछि त औपचारिक रुपमै माओवाद र माओवादी आन्दोलनको समापन भएको छ । संयोग नै मान्नु पर्दछ, यसको उत्थान र पतन दुवैमा प्रचण्डको योगदान रह्यो । यसका पराकम्पहरु भने केही समय आइ नै रहनेछन् ।
प्रतिक्रिया