काठमाडौं– पार्टीका महामन्त्री गगन थापालाई माओवादी आधार क्षेत्र मानिने रोल्पाबाट चुनाव लडाउन कांग्रेस तयार भएको छ ।
कांग्रेस रोल्पा जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले प्रतिनिधिसभा सदस्यमा थापाको नाम सिफारिस गरेको हो ।
रोल्पा विगतदेखि माओवादी प्रभाव क्षेत्रका रुपमा परिचित छ । २०४८ सालदेखि हालसम्म माओवादीले एकछत्र राज गरेको रोल्पामा कांग्रेसले थापालाई उम्मेदवार सिफारिस गरेपछि जिल्लाको आन्तरिक राजनीति तरंगित बनेको छ ।
त्यस्तै, थापासहित संघ र प्रदेशका लागि अन्य चार जनाको नाम पनि सिफारिस गरेको रोल्पाका कांग्रेस नेता अनुपम जिसीले जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा मन्दिप सुवेदी र ज्ञानबहादुर ओली सिफारिस भएका छन्।
प्रतिनिधिसभातर्फ एक मात्रै निर्वाचन क्षेत्र भएको रोल्पामा यसअघि माओवादी केन्द्रबाट वर्षमान पुन निर्वाचित भएका थिए । त्यस्तै प्रदेशसभाका दुबै क्षेत्रमा पनि माओवादी केन्द्र विजयी भएको थियो । प्रदेशसभा १ बाट माओवादीका जोखबहादुर महरा र २ बाट दिपेन्द्र पुन निर्वाचित भएका थिए ।
प्रतिक्रिया