सिन्धुलीमा केपी–प्रचण्डको‘अघोषित साँठगाँठ’, राजन दाहालका कार्यकर्ताले मागे एमालेका लागि मत

आइतबार, २८ मंसिर २०८२, १४ : ३०

सिन्धुली– तत्कालीन माओवादी केन्द्रका सांसद राजन दाहालले संसद्‌मा बोल्दै ‘केपी ओलीले पशुपतिको जलहरीमा सुन होइन, पित्तल राखे’ भन्ने अभिव्यक्तिपछि देशव्यापी हंगामा मच्चियो । उक्त अभिव्यक्तिलाई लिएर नेकपा (एमाले) ले कडा आपत्ति जनाउँदै खण्डन गर्नुपर्ने मागसहित सिन्धुली जिल्ला पार्टीले औपचारिक सर्कुलर नै जारी गर्‍यो । तर, उक्त सर्कुलरको कार्यान्वयन भने जिल्लामै विवादित बन्यो ।

सिन्धुली जिल्लाका पूर्व अध्यक्ष तथा प्रदेश सांसद प्रदीप कटवालले पार्टीको उक्त निर्णय कार्यान्वयन नगरेपछि एमालेभित्रै प्रश्न उठेको थियो । खासगरी आफूलाई खुलेआम केपी ओली निकट बताउँदै आएका कटवालबाटै पार्टी निर्णयको अवज्ञा हुनु अर्थपूर्ण रहेको स्थानीय एमाले कार्यकर्ताहरू बताउँछन् । 

राजन दाहाल र प्रदीप कटवालबीच कुनै प्रत्यक्ष पारिवारिक नाता नरहे पनि उनीहरूबीचको सम्बन्ध ‘पारिवारिकभन्दा पनि गहिरो’ रहेको सिन्धुलीको राजनीतिकवृत्तमा चर्चा छ । राजन दाहालको अभिव्यक्तिलाई लिएर चर्को विवाद भइरहेका बेला दाहाल सपरिवार कटवालकै घरमा दशैंको टीका लगाउन गएको घटनाले यो सम्बन्धलाई थप उजागर गरिदिएको स्थानीयहरू बताउँछन् । विवादपूर्व उनीहरूले कहिलै त्यसरी टीका लगाएका थिएनन् । 

कटवाल निर्माण व्यवसायीसमेत हुन् । उता, राजन दाहाल जिल्लामा बालुवा, गिट्टीलगायतका ‘विकास निर्माण’ सम्बन्धी काममा रकम असुली गर्ने आरोपहरू लामो समयदेखि लाग्दै आएका छन् । यही कारण दुवैबीच आर्थिक साँठगाँठ रहेको आशंका स्थानीय राजनीतिक विश्लेषकहरू गर्छन् । “राजनीतिक रूपमा फरक दलमा देखिए पनि विकासका नाममा हुने ठेक्का–उपठेक्काको घेराभित्र उनीहरू दुबै एकै ठाउँमा उभिएको देखिन्छ,” सिन्धुलीका एक स्थानीय नेताले भने ।

यही साँठगाँठकै बलमा राजन दाहालको निकटतामा रहेका केही व्यक्तिहरूले एमालेको केन्द्रीय सदस्य पदका लागि खुलेआम मत माग्न थालेका छन् । राजन दाहालको सचिवालयमा रहेका हेम कार्की, विश्वजीत थापा लगायतका व्यक्तिहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्नुले एमालेभित्र असहजता बढाएको छ । 

सिन्धुलीका एमाले कार्यकर्ताहरूका अनुसार, “प्रचण्डका वफादार भनेर चिनिएका राजन दाहाल र केपी ओलीका वफादार भनिने समूहबीच यति नजिकको साँठगाँठ हुनु सामान्य विषय होइन ।” उनीहरू भन्छन्, “सार्वजनिक रूपमा एकअर्काको आलोचना गरेजस्तो देखिए पनि भित्री रूपमा आर्थिक र राजनीतिक स्वार्थ मिल्दा उनीहरू एउटै मोर्चामा उभिएका छन् ।”

यस घटनाले सिन्धुली जिल्लामा दलभन्दा माथि उठेको ‘सत्ताको गठजोड’ र ‘विकासको नाममा हुने मिलेमतो’ लाई पुनः उजागर गरेको स्थानीय बुद्धिजीवीहरूको टिप्पणी छ । उनीहरूका अनुसार, यस्ता साँठगाँठले न त पार्टीको विचार र सिद्धान्तलाई सम्मान गर्छ न जनताको अपेक्षालाई ।

एमाले जिल्ला नेतृत्व भने यस विषयमा औपचारिक धारणा दिन तयार देखिएको छैन ।

 

 

 

 
आइतबार, २८ मंसिर २०८२, १४ : ३०

प्रतिक्रिया