चुनावी सहकार्यका लागि प्रचण्ड-रवि संवादको ‘सेतु’ बने कृष्णज्वाला देवकोटा

आइतबार, ०६ पुस २०८२, १० : २५

काठमाडौं- आगामी निर्वाचनको वातावरणबारे नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अप्रत्यक्ष संवाद भएको खुलासा भएको छ । उक्त संवादको सेतु बनेका छन् पत्रकार कृष्णज्वाला देवकोटा ।

शुक्रबार दिउँसो प्रचण्डसँग भेट गरेपछि देवकोटा रवि लामिछानेलाई भेट्न चितवन पुगेका हुन् । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले देवकोटा प्रचण्डलाई भेट्न उनको निवास पुगेको पुष्टि गरे । उनका अनुसार देवकोटा गंगा दाहालसँग सिधा फोन सम्पर्क गरेर आएका थिए तर भेटमा के–कस्ता विषयमा कुराकानी भयो भन्ने विवरण भने आफूलाई थाहा नभएको आचार्यले बताए ।

देवकोटाका अनुसार उनले बालेन शाह र रवि लामिछानेबीचको सम्भावित सहकार्यबारे पनि जानकारी गराएका छन् । चितवन–३ मा प्रचण्डको उम्मेदवारीबारे रवि लामिछानेको भूमिकाबारे कुरा उठ्दा रवि सकारात्मक देखिएको दाबी देवकोटाले गरेका छन् । 

रवि लामिछानेसँगको भेटमा देवकोटाले व्यंग्यात्मक शैलीमा प्रचण्डको राजनीतिक चरित्रसमेत चर्चा गरेको रवि निकट स्रोत बताउँछ । “प्रचण्डले आफ्नो र परिवारको हित देखे भने देश नै अर्कालाई दिन सक्छन्, उनको गतिशीलता त्यही हो,” भन्दै देवकोटाले हाँस्दै भनेको बताइन्छ । साथै, फागुन २१ गते निर्वाचन भए प्रचण्डले पाँच सिटसमेत नल्याउने दाबी गर्दै आफूले रविसँग सहकार्यको ‘घाँस हालिदिएको’ टिप्पणी पनि देवकोटाले गरेका छन् ।

देवकोटा र रवि लामिछानेबीचको विश्लेषणमा नेपाली कांग्रेस निर्वाचनको कुरा गरे पनि वास्तवमा निर्वाचन चाहँदैन भन्ने निष्कर्ष निकालिएको छ । उनीहरूको बुझाइमा केपी शर्मा ओली निर्वाचन भाँड्न सक्ने अवस्थामा रहेकाले वैकल्पिक नयाँ शक्तिहरूलाई निर्वाचनमार्फत् बलियो बनाउन प्रचण्डको आवश्यकता अझै समाप्त नभएको उनीहरूको बुझाइ छ ।

पत्रकार देवकोटा केपी शर्मा ओलीको सरकार रहँदा नेपाललाई ‘बंगलादेश मोडेल’तर्फ लैजानुपर्ने तर्क गर्दै सक्रिय रहेका थिए । उनले त्यसबारेमा आफ्नै नयाँ पत्रिका दैनिकमा धारावाहिक रुपमै लेख समेत प्रकाशित गरेका थिए । 

स्रोतका अनुसार रवि लामिछानेलाई जेलमा राखेपछि देवकोटाले सन्दुक रूइत, कुलमान घिसिङ, बालेन शाहसहित धेरैसँग धेरै पटक संवादको संयोजन गरेका थिए । रवि लामिछाने गृहमन्त्री हुँदा कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियालाई नागरिकताको मुद्दामा पक्राउ गरिएका बेलादेखि रवि र देवकोटाबीच निकट सम्बन्ध विकास भएको बताइन्छ ।

 
 
 
 
 
आइतबार, ०६ पुस २०८२, १० : २५

प्रतिक्रिया