काठमाडौं– आगामी फागुन २१ गते हुने संघीय निर्वाचनका लागि अखिल क्रान्तिकारीले काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रबाट जेन्जी प्रतिनिधित्वसहित वैचारिक रूपमा दृढ युवा नेतृत्व सिफारिस गरेको छ।
पार्टी स्रोतका अनुसार काठमाडौं क्षेत्र नम्बर ५ बाट अखिल क्रान्तिकारीका युवा नेता जनक ढुंगाना जेन्जी प्रतिनिधित्व गर्दै उम्मेदवारका रूपमा सिफारिस भएका छन्। त्यस्तै, काठमाडौं क्षेत्र नम्बर ३ बाट जेन्जी रेडफोर्सकी सह–संयोजक, अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा छात्रा विभाग उपप्रमुख अस्मिता खत्री सिफारिस भएकी छन्।
सिफारिस भएका दुवै नेताहरू वैचारिक प्रतिबद्धता, वर्गीय चेतना र परिवर्तनमुखी राजनीतिक दृष्टिकोणबाट प्रभावित युवा नेतृत्वका रूपमा चिनिन्छन्। उनीहरूले काठमाडौंका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क शिक्षा तथा शैक्षिक सहयोग प्रदान गर्दै, शिक्षा अधिकारलाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएका छन्।
उनीहरू विगत लामो समयदेखि विद्यार्थीका हक–हित, समान र निःशुल्क शिक्षाको पक्षमा सडक आन्दोलनदेखि संगठनात्मक संघर्षसम्म सक्रिय रहँदै आएका छन्। यसका साथै, भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने र दलाल–पूँजीवादी प्रवृत्तिका विरुद्ध दबाब सिर्जना गर्ने अभियानहरू पनि निरन्तर सञ्चालन गर्दै आइरहेका छन्।
अखिल क्रान्तिकारीले यसलाई विद्यार्थी आन्दोलनलाई राजनीतिक रूपान्तरण र समाज परिवर्तनसँग जोड्ने वैचारिक पहलको रूपमा व्याख्या गरेको छ।
प्रतिक्रिया