काठमाडौं– हरेक पटकको निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले यसपाली चुनाव लड्ने क्षेत्र अझै यकिन भएको छैन । प्रचण्डलाई नेकपाले देशभरका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारका लागि सिफारिस गरेको छ ।
प्रचण्डलाई विभिन्न जिल्लाबाट त्यहाँको पार्टी कमिटीले उम्मेदवारका लागि सिफारिस गरे पनि उनी भने सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा लागेको बताइन्छ ।
यसै क्रममा बागमती प्रदेशको नुवाकोट–१, सिन्धुली–२, रामेछाप, मधेसको महोत्तरी–४, गण्डकीको गोरखा–१ बाट प्रचण्डको नाम सिफारिस गरिएको छ ।
यस्तै लुम्बिनीको रोल्पा, रुकुम पूर्व र सुदूरपश्चिमको कैलाली–३ बाट पनि उनी उम्मेदवार सिफारिस भएका छन् । यस्तै बागमतीकै काभ्रे–गण्डकीको कास्की–१ बाट पनि प्रचण्डको नाम सिफारिस हुनसक्ने सम्बन्धित जिल्ला र प्रदेशका नेकपा नेताहरुले बताएका छन् ।
उनी शान्ति प्रक्रियामा आए लगत्तै २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौंबाट निर्वाचन जितेका थिए । त्यसयता हरेक पटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका छन् । २०७० मा सिरहा ३ र काठमाडौं १० बाट उम्मेदवारी दिएका उनले काठमाडौंमा पराजित हुन पुगे भने सिरहाबाट निर्वाचित भएका थिए । यस्तै २०७४ को निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका उनी ७९ मा भने गोरखा २ मा पुगेका थिए ।
आगामी फागुन २१ को निर्वाचनमा उनले उम्मेदवारी दिने क्षेत्र अझै टुंगो लागेको छैन । निर्वाचन क्षेत्र बदलेर कीर्तिमान कायम गरेका प्रचण्डको आगामी निर्वाचन क्षेत्रबारे सबैको चासो रहेको छ ।
प्रतिक्रिया