राप्रपाबाट झापा–५ मा गोपाल पौड्याल सिफारिस, एमालेको गढमा चुनौती दिने तयारी

आइतबार, १३ पुस २०८२, १३ : ०४

झापा- आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्षतर्फ युवा नेता गोपाल पौड्यालको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

राप्रपाका केन्द्रीय सदस्य, मिडिया नेपालका केन्द्रीय अध्यक्ष तथा सञ्चार उद्यमी समेत रहेका पौड्याललाई पार्टीले क्षेत्रीय राजनीतिक अवस्था, संगठन विस्तार र युवामाझको प्रभावका आधारमा उम्मेदवार सिफारिस गरेको पार्टी स्रोतले जनाएको छ। पछिल्लो समय झापा–५ मा राप्रपाको संगठनात्मक गतिविधि बढ्दै गएको र वैकल्पिक शक्तिको रूपमा पार्टीलाई स्थापित गर्ने रणनीतिअनुसार पौड्याललाई अघि सारिएको बताइएको छ।

पौड्याल यसअघि सम्पन्न स्थानीय तह निर्वाचनमा गौरादह नगरपालिकामा राप्रपाबाट नगर प्रमुख पदमा प्रतिस्पर्धा गरेका थिए। सो निर्वाचनमा उनले उल्लेख्य मत ल्याउँदै पार्टीको आधार विस्तारमा भूमिका खेलेका थिए।

झापा–५ नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक गढका रूपमा परिचित क्षेत्र हो। ओलीले २०४८ सालदेखि निरन्तर यसै क्षेत्रबाट चुनाव लड्दै आएका छन्। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका थिए। त्यसबाहेक भएका सबै संसदीय निर्वाचनमा ओली विजयी हुँदै आएका छन्।

राजनीतिक रूपमा चुनौतीपूर्ण मानिने यो क्षेत्र राप्रपाको पनि प्रभावशाली क्षेत्रका रूपमा हेरिँदै आएको छ। विगतका निर्वाचनमा राजसंस्थाप्रति सहानुभूति राख्ने मतदाता, परम्परागत मताधार र स्थानीय संगठनको आधारका कारण राप्रपाले यहाँ उल्लेख्य मत पाउँदै आएको छ।

राप्रपाले झापा–५ लाई प्राथमिकतामा राख्दै युवा, परिवर्तनमुखी र संगठन विस्तारमा सक्रिय अनुहारलाई उम्मेदवार बनाउने रणनीति अपनाएको देखिन्छ। उम्मेदवारी सिफारिससँगै अब चुनावी प्रतिस्पर्धा थप चासोको विषय बन्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।


 

 
आइतबार, १३ पुस २०८२, १३ : ०४

प्रतिक्रिया