राजनीतिक ध्रुवीकरण

रवि–बालेन मिलाप : राजनीतिक बाध्यता कि राष्ट्रिय आवश्यकता ?

सोमबार, १४ पुस २०८२, १५ : २४

काठमाडौं– नेपाली राजनीतिमा काठमाडौंका स्वतन्त्र मेयर बालेन्द्र शाह(बालेन) रास्वपामा भित्रिएपछि तरंग उत्पन्न भएको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र रास्वपाबीच सात बुँदे सहमति गर्दै एकाकार हुने निर्णय गरेका छन् । 

मेयर बालेन आफू मात्रै पार्टीमा समाहित हुने निर्णय गरे पनि उनलाई छुट्टै पक्षको मान्यता दिएर रास्वपाले मुख्य हिस्सा समेत दिएको छ । यसले बालेन अलग समूह र संगठित शक्तिका रुपमा रास्वपाले स्वीकारेको प्रष्ट हुन्छ ।

रास्वपाका सभापति रवि लामिछाने जेलबाट रिहा भएपछि नै बालेन लगायत अन्य नयाँ शक्तिसँग सहकार्यका लागि दौडधुप बढाएका थिए । लामो गृहकार्यपछि मात्रै रविले बालेनलाई आफ्नो पार्टीमा समाहित गर्न सफल भएका हुन् ।

दुई पक्षबीचको सार्वजनिक सहमति अनुसार रवि पार्टी नेतृत्वमा रहने र आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिने छन् । आगामी फागुन २१ को निर्वाचनमा सरकार बनाउने अंकगणित पार्टीले प्राप्त गरेमा बालेनलाई प्रधानमन्त्री बनाउने गरी भएको सहमतिलाई कतिपयले उधारो सहमतिको रुपमा समेत टिप्पणी गरेका छन् ।

बालेनले आफैं नयाँ पार्टी गठन गरेर निर्वाचनमा होमिने बताए पनि अन्ततः उनी रास्वपामा भित्रिएर दलीय राजनीति अघि बढाउन तयार भएका हुन् । उनको आफ्नो स्वभावले समेत नयाँ दल गठन गरेर नेतृत्वदायी भूमिकामा रहने सम्भावना न्यून थियो ।

अन्तर्मुखी स्वभावका उनी सार्वजनिकरुपमा त्यति खुलेर अभिव्यक्ति दिएको पाइँदैन । यसले पनि उनको आफ्नै नेतृत्वमा दल स्थापित गर्नेभन्दा स्थापित दलमै सहभागी भएर राजनीतिक गतिवधि अघि बढाउन तयार भएको अनुमान लगाउन कठिन छैन । 

उता, रवि पनि सहकारी ठगी प्रकरणमा पुराना दलले प्रतिशोधपूर्ण तवरले कारागार पठाएको बताउँदै आएका छन् । पुराना दलप्रति आक्रामक र सार्वजनिक छवि भएका बालेन रविका लागि अहिले आफूमाथि पुराना दलका कारण निम्तिएको संकटपूर्ण अवस्थामा अत्यावश्यक थियो । बालेन विगतदेखि नै पुराना दलप्रति आक्रामक र अमर्यादित तवरले प्रस्तुत हुँदै आएका पात्र हुन् ।

सिंहदरबारको फोहोर नउठाएर कहिले सिंहदरबार सार्न धम्की दिएर पुराना दलविरुद्ध प्रस्तुत हुन्थे भने कहिले चोरको संज्ञा दिएर समेत आक्रोश प्रकट गर्दथे । हुँदाहुँदा त सिंहदरबार जलाउने धम्की समेत सामाजिक सञ्जालमार्फत बालेनले दिएका थिए । जेनजी आन्दोलनमा सामाजिक सञ्जालमार्फत संसद विघटन गर्न सुझाएर बालेनले सेनासँग वार्ता गर्न आह्वान गरेका थिए ।

यसरी पुराना दलप्रति आक्रामक बालेन र पुराना दलकै कारण आफूलाई सहकारी ठगी प्रकरणमा कारागार पुर्याइएको निष्कर्षमा पुगेका रविको दलीय संयोजन दुबैको आवश्यकताको उपज हो । यसले नेपाली राजनीतिमा पार्ने प्रभाव हेर्न भने आगामी निर्वाचन कुर्नुपर्ने देखिन्छ । 

 
 
 
 
 
सोमबार, १४ पुस २०८२, १५ : २४

प्रतिक्रिया