जिल्लाबाट निर्वाचित नेताहरुले विकास नगरेको भन्दै रुकुम पूर्वका १८ नेताद्वारा प्रचण्डको उम्मेदवारी माग

बुधबार, १६ पुस २०८२, १६ : २७

काठमाडौं– रुकुम पूर्वका १८ नेताहरुले आगामी फागुन २१ को निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक प्रचण्डलाई आफ्नो जिल्लाबाट चुनाव लड्न माग गरेका छन् । 

रुकुम पूर्वका १८ जना नेताहरुले आज केन्द्रीय कार्यालयमा निवेदन पठाउँदै जनयुद्धको आधार भूमि भएको र २०६४ सालदेखि निर्वाचित जनप्रतिनिधिले जिल्लाको विकास गर्न नसकेको बताउँदै प्रचण्डलाई रुकुम पूर्व जिल्लाबाटै निर्वाचन लड्न माग गरेका हुन् ।

नवगठित नेकपाको विभिन्न जिम्मेवारीमा रहेका जिल्लाका १८नेताहरुद्वारा हस्ताक्षरित केन्द्रीय कार्यालयमा पठाइएको निवेदनमा भनिएको छ, ‘ रुकुम दश वर्षे जनयुद्धको जगमा उभिएको  सहिद घाइते, संघर्षशील जनताको भूमि । यही रुकुमले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको थियो । तर २०६४ सालपछि यस जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले अपेक्षित विकास, सामाजिक न्याय र दूरदर्शी पहल पूरा गर्न सकेनन् ।’

उक्त निवेदन पेश गर्दै प्रचण्डलाई रुकुम पूर्वबाट उम्मेदवारी दिन माग गर्नेहरुमा कैलाश मल्ल, साविक माओवादी केन्द्रको केन्द्रीय सदस्य सहित जिल्ला कमिटी सदस्य लगायत विभिन्न भातृ संगठका नेताहरु रहेका छन् । 

 
 
 
 
 
 
 
बुधबार, १६ पुस २०८२, १६ : २७

प्रतिक्रिया