काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी शक्ति पुनर्गठन रुपान्तरण अभियानबीच एकता गर्ने विषयमा औपचारिक सहमति भएको छ। देशलाई प्रगति र अग्रगमनको दिशामा लैजाने उद्देश्यसहित लोकतान्त्रिक मूल्य, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र सामाजिक न्यायलाई केन्द्रमा राख्दै संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाइएको छ।
सहमतिपत्रमा राष्ट्रियताको संरक्षण, सबल राष्ट्र र सक्षम नागरिक निर्माण, समावेशी विकास र समानतामूलक समाज स्थापनालाई मुख्य लक्ष्यका रूपमा उल्लेख गरिएको छ। साथै, प्रगतिशील लोकतान्त्रिक शक्ति र क्रान्तिकारी धाराबीचको पुनर्गठन तथा रुपान्तरण अभियानलाई एकीकृत गर्दै संयुक्त संघर्ष अघि बढाउने सहमति भएको जनाइएको छ।
सहमति अनुसार, विगतका जनआन्दोलनका अपूर्ण कार्यभारलाई सम्बोधन गर्दै सहिद तथा घाइते परिवारका माग पूरा गर्न पहल गरिनेछ। सुशासन र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक अघि बढ्ने र राज्यका प्रमुख अङ्ग—व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा आवश्यक पुनर्संरचनाका लागि पहल गर्ने उल्लेख गरिएको छ।
त्यस्तै, दुई पक्षबीच संगठनात्मक एकता कायम गर्दै सचिवालयदेखि सबै तहमा सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गरिनेछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा संयुक्त रूपमा सहभागी भई उम्मेदवार तय गर्ने सहमति पनि भएको छ। सहमतिलाई कार्यान्वयन गर्न आवश्यक प्रक्रिया निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता गरिने बताइएको छ।
सहमतिमा प्रगतिशील लोकतान्त्रिक पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्नलाई एकताबद्ध गर्ने आधारमा सुशासन, लोकतन्त्र र परिवर्तनका पक्षमा गोलबद्ध हुन आह्वान गरिएको छ। साथै, नीति र नेतृत्वको आधारमा अध्ययन, अनुसन्धान र उत्पादनको क्षेत्रमा जोड दिँदै सामाजिक विभेद, गरिबी र भ्रष्टाचारलाई समाज र राष्ट्रका शत्रुका रूपमा परिभाषित गर्दै त्यसविरुद्ध संयुक्त संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सहमतिपत्रमा निर्वाचन परिचालन तथा वार्ता संवाद समितिका संयोजक जनार्दन शर्मा र क्रान्तिकारी शक्ति पुनर्गठन रुपान्तरण अभियानका संयोजक दलबहादुर घर्ती मगरले हस्ताक्षर गरेका छन्। सहमति २०८२ साल पुस १२ गते भएको जनाइएको छ।

प्रतिक्रिया