धिरेन्द्र शर्मा ‘रमण’ले छाडे प्रचण्डको साथ, प्रलोपामा आवद्ध हुने तयारी

विहीबार, २४ पुस २०८२, ११ : २६

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इञ्चार्ज, पूर्व प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा ‘रमण’ ले पार्टी परित्याग गरेका छन्। इलामका स्थापित तथा प्रभावशाली नेताका रूपमा परिचित शर्माले करिब तीन दशक लामो संगठनात्मक आबद्धताको अन्त्य भएको घोषणा गरेका हुन्।

शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्, “करिब तीस वर्षको संगठनात्मक आबद्धताको अन्त्य। गणतन्त्रपछि अब समाजवादको यात्रा।”

उनको यस घोषणालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। लामो समयदेखि माओवादी पार्टीमा सक्रिय रहँदै आएका शर्माको पार्टी परित्यागले इलामको राजनीतिक समीकरणमा प्रभाव पार्ने अनुमान गरिएको छ।

स्रोतका अनुसार शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आवद्ध हुने तयारीमा रहेका छन्। यद्यपि, यस विषयमा शर्माले औपचारिक घोषणा भने गरिसकेका छैनन्।

इलाममा संगठन निर्माण, जनआन्दोलन तथा संसदीय भूमिकामा सक्रिय रहँदै आएका शर्माको आगामी राजनीतिक यात्रालाई चासोका साथ हेरिएको छ।

 
विहीबार, २४ पुस २०८२, ११ : २६

प्रतिक्रिया