सिन्धुली–२ मा चुनावी रौनक : तीन पूर्वसहकर्मीबीच रोचक प्रतिस्पर्धा हुने सम्भावना

सोमबार, २८ पुस २०८२, १० : ४२

सिन्धुली- आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुली–२ मा राजनीतिक दलहरूले उम्मेदवार सिफारिसको प्रक्रिया तीव्र बनाएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले आफ्ना वरिष्ठ नेता राम कार्कीलाई उक्त निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

बौद्धिक क्षमता र वाकपटुताका लागि परिचित कार्की २०४८ सालमा संयुक्त जनमोर्चा, नेपालबाट संसदमा उम्मेदवार भएपछि कार्कीलाई जिल्लामा खोजिने र प्रभावशाली नेताका रूपमा लिइन्छ ।

नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट वैचारिक निष्ठा र सादा जीवनशैलीका कारण छुट्टै पहिचान बनाएका महेश्वर दाहाल पनि सिफारिस सूचीमा परेका छन् । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता हरिबोल गजुरेलसँगै सिफारिसमा परेका दाहालले अहिलेसम्म कुनै अवसर नपाएको पृष्ठभूमिमा पार्टीबाट उनको उम्मेदवारीको सम्भावना बलियो देखिएको छ ।

प्रचण्डले पूर्वी रुकुमबाट उम्मेदवारी रोजिसकेका छन् भने हरिबोल गजुरेलले एकपटक सांसद भइसकेकाले यसपटक नउठ्ने प्रस्ताव सार्वजनिक रूपमा गरेका छन् । गजुरेल यसअघि दुई पटक सांसद तथा एकपटक मन्त्री भइसकेका छन् । यसैले सिन्धुली–२ मा महेश्वर दाहाललाई अघि सार्ने सम्भावना बलियो रहेको पार्टीको आन्तरिक विश्लेषण छ ।

उता, नेकपा (एमाले) ले माओवादी पृष्ठभूमिका नेता मनोजजंग थापालाई सिन्धुली–२ बाट सिफारिस गरेको छ । जनयुद्धकालमा पार्टीको अन्तर्राष्ट्रिय विभागमा काम गरेका थापा यसअघि एमालेबाट निर्वाचन लडेर पराजित भएका थिए । 

सिन्धुली–२ मा  उम्मेदवार सिफारिस भएका दाहाल, कार्की र थापा तीनै जना आफ्नो पार्टीका बलियो दावेदार हुन् । यहाँ प्रमुख दलहरूको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा पूर्वसहकर्मी समेत रहेका यी तीन जनाको अन्तिम उम्मेदवारी टुंगो लागेमा चुनावी माहोल थप रोचक हुने देखिएको छ ।

 
 
 
सोमबार, २८ पुस २०८२, १० : ४२

प्रतिक्रिया