काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) बीच राजनीतिक एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ।
देशमा बढ्दो राजनीतिक, सामाजिक तथा आर्थिक संकट, जनजीविकाको समस्या र सुशासनको अभावलाई सम्बोधन गर्ने उद्देश्यसहित दुवै पार्टीबीच एकता सहमति भएको हो।
सहमति पत्रमा जनमुखी शासन व्यवस्था, सामाजिक न्याय, समानुपातिक प्रतिनिधित्व, संविधान संशोधन, सहकारी क्षेत्रमा देखिएको संकट समाधान, सुशासन र जनअधिकार सुनिश्चित गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ। सहकारी पीडितको समस्या समाधानका लागि विशेष कोष गठन, पीडितको रकम फिर्ता र दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता पनि सहमतिमा समेटिएको छ।
दुवै पार्टीले राष्ट्रिय स्वाधीनता, समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्र, जनताको जीवनस्तर उकास्ने नीति तथा कार्यक्रम संयुक्त रूपमा अघि बढाउने सहमति जनाएका छन्। एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने र आगामी राजनीतिक तथा निर्वाचन प्रक्रियामा संयुक्त रूपमा सहभागी हुने सहमति भएको छ।
सहमति पत्रमा राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) का अध्यक्ष सुमन सायमी र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया