काठमाडौं– हरेक पटकको निर्वाचनमा चुनाव क्षेत्र परिवर्तन गर्दै आइरहेका नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डको आगामी निर्वाचन क्षेत्र पूर्वी रुकुममा सहिद पुत्र सन्दीप पुनले उम्मेदवारी दिने घोषणा गरेसँगै पूर्वमाओवादी वृत्त तरंगित बनेको छ ।
यसअघि काठमाडौं, रोल्पा सिरहा, चितवन हुँदै गोरखा पुगेका प्रचण्ड आगामी फागुन २१ को निर्वाचनमा पूर्वी रुकुम जान लागेका छन् । माओवादी जनयुद्धका सहिद पुत्र सन्दीप पुनले प्रचण्डलाई चुनौती दिँदै उम्मेदवारी घोषणा गरेपछि उनको उम्मेदवारी रोक्न पूर्व माओवादी नेताहरुले अनेकौं हत्कण्डा सुरु गरेका छन् ।
प्रचण्डले माओवादी केन्द्र एकीकृत समाजवादी लगायत अन्य वाम घटकसँग विलय गराए पछि जनार्दन शर्मा र राम कार्कीसँगै बाहिरिएर प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)मा लागेका पुन माओवादी जनयुद्धका सहिद दम्पति सूर्य प्रकाश पुन र पम्परा गौतमका छोरा हुन् । उनले चार वर्षको हुँदा जनयुद्धमा आमाबुबा गुमाएका थिए । उनै पुनले प्रचण्ड विरुद्ध पूर्वी रुकुममा उम्मेदवारी दिने घोषणा गरेसँगै हाल नेकपामा रहेका त्यहाँका पूर्वमाओवादी नेता पूर्ण घर्तीले उम्मेदवारी नदिन आग्रह गरेका हुन् ।
घर्तीले सामाजिक सञ्जालमार्फत खुला पत्र लेख्दै सहिद पुत्र पुनलाई अहिले उम्मेदवारी दिने समय नभएको बताउँदै जिल्लामा गएर जनताको सेवा गर्न सुझाएका छन् । उनले भनेका छन्, ‘अहिले नै सांसदको उम्मेदवार बनेर भाइरल हुनुभन्दा, पहिले पेल्मा, मईकोट र हुकामका ती बस्तीहरूमा तिम्रा बुवाको पसिना गन्हाउने माटोलाई ढोग। त्यहाँका जनताको दुस्खलाई आफ्नै दुख बनाऊ। एउटा परिपक्व, सुविचारित र दुरगामी नेता बन्नका लागि पहिले जनताको बीचमा खारिन तयार होऊ , आफ्ना अभिभावकहरूको आशीष र मार्गदर्शनलाई आफ्नो राजनीतिक ुकम्पासु बनाऊ।’
सहिदपुत्र पुनको उम्मेदवारीले रुकुम पूर्वमा निर्वाचन जित्न प्रचण्डलाई असहज हुने भएरै घर्तीले उम्मेदवारी फिर्ता लिन आग्रह गरेको प्रलोपाका नेताहरु बताउँछन् । जेनजी विद्रोहपछि विकसित राजनीतिक घटनाक्रमले नेतृत्व हस्तान्तरण र रुपान्तरणको माग गरेकाले युवा उम्मेदवारका रुपमा आफूलाई उभ्याएका पुनलाई उम्मेदवारी नदिन दबाबस्वरुप पत्र लेखेको भन्दै घर्तीको आलोचना भइरहेको छ ।
घर्ती लुम्बिनी प्रदेश सभाका पूर्वसभामुख एवं विघटित प्रतिनिधिसभामा रुकुमपूर्वबाटै निर्वाचित सांसद हुन् । सुक्षित निर्वाचन क्षेत्र खोज्दै भौतारिएर रुकुम पूर्व पुगेका प्रचण्डलाई सन्दीप पुनको उम्मेदवारीले निर्वाचन जित्न खतरा हुने देखेरै घर्तीले सहिद पुत्रलाई हतोत्साहित बनाउन उम्मेदवारी फिर्ताको आग्रह गरेको बताइन्छ ।
प्रतिक्रिया