काठमाडौं - नेपाल राष्ट्र बैंकले तोकिएको चुक्ता पूँजी कायम गर्न नसकेका लघुवित्त वित्तीय संस्थाहरूले कर प्रयोजनबाहेक नगद लाभांश वितरण गर्न नपाउने स्पष्ट गरेको छ । साथै, इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूको लाभांश वितरणमा कडाइ गरेको छ । राष्ट्र बैंकले खराब कर्जा अनुपात र लाभांश वितरणपछि कायम हुने पूँजीकोष अनुपातलाई आधार मानी लाभांश वितरणको सीमा तोकेको हो।
राष्ट्र बैंकका अनुसार खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा कम, ५ देखि १० प्रतिशतसम्म र १० देखि १५ प्रतिशतसम्म रहेका लघुवित्त संस्थाहरुले पूँजीकोषको अवस्था अनुसार तोकिएको सीमाभित्र मात्र लाभांश वितरण गर्न सक्नेछन्। खराब कर्जा अनुपात १५ प्रतिशतभन्दा बढी भएका संस्थाहरुलाई लाभांश वितरण गर्न नपाइने व्यवस्था गरिएको छ ।
राष्ट् बैंकले गरेको व्यवस्था अनुसार लघुवित्तहरुले २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्नेछन् । लघुवित्तहरुको पूँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको निष्क्रिय कर्जा अनुपातलाई आधार मानेर ५ देखि २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने व्यवस्था केन्द्रिय बैंकले गरेको हो।
त्यस्तै, पूँजीकोष अनुपात १० देखि १२ प्रतिशत र निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम हुने लघुवित्तले २० तथा ८ देखि १० प्रतिशत पूँजीकोष अनुपात र ५ प्रतिशतभन्दा कम निष्क्रिय कर्जा हुने लघुवित्तहरुले १५ प्रतिशत लाभांश वितरण गर्न सक्नेछन्।
राष्ट्र बैंकको यो व्यवस्थाले लघुवित्त क्षेत्रमा वित्तीय अनुशासन कायम गर्न, जोखिम व्यवस्थापन सुधार गर्न तथा निक्षेपकर्ता र लगानीकर्ताको हित संरक्षण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया