धितोपत्र बोर्डले ल्यायो म्युचुअल फन्डको बीजपुँजी लगानीमा नयाँ प्रावधान, ५ प्रतिशतमै योजना सञ्चालन गर्न पाइने

सोमबार, ०५ माघ २०८२, १७ : १०

काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को बीजपुँजी लगानीमा नयाँ प्रावधान ल्याएको छ।

धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम २९ (२) मा रहेको व्यवस्थाबमोजिम पहिलो योजनाबाहेक अन्य योजनाका सम्बन्धमा पहिलो योजनाको कार्यसम्पादनका आधारमा धितोपत्र बोर्डले समय–समयमा तोकिएबमोजिमको प्रतिशतको बीजपुँजी राख्नुपर्ने भन्ने व्यवसथाबमोजिम ससर्त माघ १ गतेदेखि लागू हुने गरी नयाँ लगानी व्यवस्था गरेको हो। 

यसअघि सबै म्युचुअल फण्ड योजनामा योजना प्रवर्द्धक तथा व्यवस्थापकले अनिवार्य रूपमा १५ प्रतिशत बीज पुँजी लगानी गर्नुपर्ने व्यवस्था थियो। 

सेबोनका अनुसार १० प्रतिशत बीज पुँजी राख्न पाउने योजना व्यवस्थापकसँग कम्तीमा तीन वर्ष सामूहिक लगानी योजना सञ्चालनको अनुभव हुनुपर्नेछ। साथै, व्यवस्थापनमा रहेका योजनाको कुल पूँजी एक अर्ब रुपैयाँभन्दा बढी हुनुपर्ने, बोर्डबाट अनुमति प्राप्त योजनाहरूको पछिल्लो तीन वर्षको प्रति इकाई मासिक खुद सम्पत्ति मूल्यको औसत अंकित मूल्यभन्दा माथि हुनुपर्ने व्यवस्था गरिएको छ। यसका साथै, योजना व्यवस्थापकको रेटिङ न्यूनतमभन्दा माथि हुनुपर्ने र पछिल्लो छ महिनाभित्र कुनै कारबाही वा निलम्बनमा नपरेको हुनुपर्नेछ।

यस्तै, ५ प्रतिशत बीज पुँजी राख्न पाउने योजना व्यवस्थापकसँग कम्तीमा पाँच वर्ष सामूहिक लगानी योजना सञ्चालनको अनुभव, पाँच अर्ब रुपैयाँभन्दा बढी कोष व्यवस्थापन, पछिल्लो तीन वर्षको औसत खुद सम्पत्ति मूल्य अंकित मूल्यभन्दा माथि, औसत वा सोभन्दा माथिको रेटिङ तथा पछिल्लो छ महिनामा कुनै कारबाही नभएको अवस्था अनिवार्य गरिएको छ।

तर, ५ प्रतिशत वा १० प्रतिशत बीज पुँजीको सुविधा प्रयोग गरी सञ्चालन गरिने योजनाको अधिकतम आकार १० अर्ब रुपैयाँभन्दा बढी हुन नपाउने स्पष्ट गरिएको छ। उल्लेखित मापदण्ड पूरा गर्न नसके पनि १५ प्रतिशत बीज पुँजी लगानी गरेमा भने नयाँ योजना तथा थप इकाई निष्कासनमा कुनै रोक नलाग्ने बोर्डले जनाएको छ।

यससँगै सेबोनले जोखिम व्यवस्थापनलाई अनिवार्य बनाएको छ। योजना व्यवस्थापकहरूले जोखिम व्यवस्थापन नीति तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेछ भने प्रत्येक योजनामा अर्धवार्षिक रूपमा ‘स्ट्रेस टेस्ट’ गरी त्यसको प्रतिवेदन कोष सुपरिवेक्षक र कम्पनीको सञ्चालक समितिमा छलफल गरी एक महिनाभित्र बोर्डमा पेश गर्नुपर्नेछ।

एकभन्दा बढी योजना सञ्चालन गर्ने अवस्थामा योजनाबीचको उद्देश्य र विशेषता स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

बोर्डका अनुसार नयाँ व्यवस्थाले म्युचुअल फण्ड उद्योगलाई थप व्यवस्थित बनाउने, अनुभवी योजना व्यवस्थापकलाई प्रोत्साहन गर्ने र नयाँ योजना ल्याउन सहज बनाउने अपेक्षा गरिएको छ। यसबाट पुँजी बजारमा म्युचुअल फण्डको सहभागिता बढ्ने, दोस्रो बजारमा माग पक्ष बलियो हुने र अन्ततः लगानीकर्ताको हित संरक्षणमा सहयोग पुग्ने विश्वास बोर्डले व्यक्त गरेको छ । 

 
सोमबार, ०५ माघ २०८२, १७ : १०

प्रतिक्रिया