अपडेट

भुजुङ हाइड्रोपावरले सोमबारदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

आइतबार, ११ माघ २०८२, १३ : ४५

काठमाडौं- भुजुङ हाइड्रोपावर लिमिटेडले भोलि माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँट गरेसँगै अब सर्वसाधारणका लागि जारी गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको थियो। जसमध्ये १० लाख कित्ता आईपीओ आयोजना प्रभावितलाई र १ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँट गरिसकको छ।

अब कम्पनीले बाँकी ९ लाख कित्तामध्ये २० हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि र ५० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी रहेको ८ लाख ३० हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतममा ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। आईपीओमा माघ १५ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी इस्यूअर रेटिङ सिंगल बी प्लस’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

इच्छुक सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

 
आइतबार, ११ माघ २०८२, १३ : ४५

प्रतिक्रिया