यताउता भड्किन छाडेर नेकपामै आउन विप्लवलाई प्रचण्डको आग्रह

बुधबार, १४ माघ २०८२, १५ : १५

काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गरेका छन् । 

विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट विद्रोह गरी चिरञ्जीवी ढकालसहित विभिन्न तहका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा स्वागत गर्दै प्रचण्डले यस्तो आग्रह गरेका हुन् । 

उनले जेनजी आन्दोलनपछि विप्लव राजनीतिक रूपमा ठूलो तुहिँलोभित्र हराएको टिप्पणी गर्दै इतिहासमा विरलै प्राप्त हुने अवसर गुमाएको बताए। “हामीले नेपाली कम्युनिस्ट पार्टी यसै आवेगमा बनाएका होइनौँ। एकताको प्रक्रियामा तपाईंहरूले निकै ठूलो महत्व पाउँदै हुनुहुन्थ्यो,” प्रचण्डले भने

समाजवादी मोर्चालाई नै नेपाली कम्युनिष्ट पार्टीको रुपमा अगाडि बढाउन चाहेको आफु र माधव नेपाले विप्लवलाई निकै ठुलो महत्व दिएको भएपनि एकताबाट विप्लव विना कारण पछाडि हटेको उनको भनाई थियो ।

एकतामा समावेस नभएपनि विप्लवप्रति आफ्नो कुनै घृणा वा आक्रोश नरहेको स्पष्ट पार्दै उहाँले नेकपा नै विप्लव समूहको वास्तविक घर भएको उल्लेख गरे। “यताउता भड्किनुपर्ने कुनै आवश्यकता छैन। आजभोलि यताउता भड्किँदा केही हुनेवाला छैन,” उनको भनाइ छ।

प्रचण्डले पुरानो सहयात्रीको नाताले आफुले विप्लवलाई माया र भरोसा गरेको बताउँदै आत्मसमिक्षा गरी नेकपामै फर्किन आग्रह गरे । उनले अझै पनि नेकपामा समावेश भई अघि बढ्ने अवसर बाँकी रहेको बताउनुभयो। “यो आत्मसमिक्षा गर्ने बेला हो। तपाईंहरूको अवसर अझै गुमिसकेको छैन,” उनले भने।

सो क्रममा प्रचण्डले निर्वाचन नजिकिँदै गर्दा पनि देशको असहज परिस्थिति पूर्णरुपमा समाधान नभैसकेको उल्लेख गरे। नेकपा माओवादीका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उहाँले देश फेरि अर्को दुर्घटनातर्फ जान सक्ने खतरा औँल्याए।

“चुनाव अगाडि छ, तर यो चुनावले के दिन्छ भन्नेबारे अझै कन्फ्युजन छ। यदि हामी एकताबद्ध भएर देशव्यापी अभियानमा गएनौँ भने देश फेरि अर्को दुर्घटनातिर जान सक्छ,” उनले चेतावनी दिए।

प्रचण्डले पार्टीपंक्तिलाई एकताबद्ध भएर चुनावमा केन्द्रित हुन निर्देशनसमेत दिएका छन् ।

 
बुधबार, १४ माघ २०८२, १५ : १५

प्रतिक्रिया