प्रचण्डको उल्टो दाउ

सिन्धुलीमा गजुरेल–दाहालको पक्षमा जनसमर्थन बढ्दै, अधिकांशले उठाए प्रचण्डको नेतृत्व शैलीमाथि गम्भीर प्रश्न

मंगलबार, २० माघ २०८२, ११ : ११

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेता हरिबोल गजुरेल र महेश्वर दाहाललाई स्पष्टीकरणसमेत नलिई पार्टीबाट निष्कासन गरेपछि यसको राजनीतिक प्रभाव अपेक्षाभन्दा उल्टो देखिन थालेको छ । पार्टीभित्र मात्र होइन, बाहिरी मतदाता तहमा पनि निष्कासित नेताहरूप्रति सहानुभूति बढ्दै गएको देखिएको छ ।

हरिबोल गजुरेल र महेश्वर दाहालको सार्वजनिक छवि स्वच्छ, सिद्धान्तनिष्ठ र संघर्षशील नेताका रूपमा स्थापित छ । उनीहरू प्रचण्डको स्वेच्छाचारिता, विकृति, विसंगति र बढ्दो परिवारवादविरुद्ध निरन्तर आवाज उठाउँदै आएकै कारण निशानामा परेको बुझाइ राजनीतिक वृत्तमा व्यापक छ ।

यसको प्रत्यक्ष प्रभाव यो निर्वाचनमा देखिन थालेको छ। सिन्धुली–२ मा नेकपा जिल्ला कमिटीले ‘बस्ने मुढा’ चिन्हबाट अघि सारेका महेश्वर दाहालप्रति मतदाताबीच सहानुभूति र समर्थन उल्लेख्य रूपमा बढ्दै गएको देखिन्छ । पार्टी निर्णयबाट अन्यायमा परेका नेताका रूपमा दाहालप्रति मतदाताले व्यक्त गरिरहेको भावनाले चुनावी समीकरणलाई प्रभावित पार्न सक्ने आँकलन गरिएको छ ।

यस घटनाले प्रचण्डको नेतृत्व शैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ । आलोचना सहन नसक्ने, फरक मतलाई दण्डित गर्ने र संगठनलाई व्यक्तिकेन्द्रित बनाउने प्रवृत्तिले माओवादी आन्दोलनको वैचारिक जग कमजोर बन्दै गएको विश्लेषकहरूको निष्कर्ष छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो निष्कासनले तत्काल शक्ति प्रदर्शन गरेजस्तो देखिए पनि दीर्घकालमा यसले प्रचण्डलाई नै कमजोर बनाउने सम्भावना बढाएको छ ।

यसअघि पनि सिन्धुलीका स्वच्छ छवि भएका नेताहरू सीपी गजुरेल, ईश्वरीप्रसाद दाहाल, अखिल नेपाल ट्रेड युनियनका अध्यक्ष कुमार दाहाललाई अनेकौं प्रपञ्च गरेर पार्टीबाट हटाउँदा पार्टीको नैतिक विश्वसनीयता निरन्तर खस्किएर जनविश्वास क्षयीकरण हुँदै आएको छ । 

गजुरेल र दाहालको पछिल्लो निष्कासनको यो निर्णयले नेकपामा मात्रै होइन समग्र नेपाली कम्युनिस्ट आन्दोलनभित्र नेतृत्वको चरित्र, उत्तरदायित्व र आन्तरिक लोकतन्त्रको प्रश्न देशव्यापी बहसको विषय बनाएको छ ।

 
 
 
मंगलबार, २० माघ २०८२, ११ : ११

प्रतिक्रिया