राजनीति

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच दुई घण्टा छलफल, के भयो कुराकानी ?

विहीबार, २२ माघ २०८२, १४ : ५४

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा आगामी प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउने उपायबारे छलफल भएको बताइएको छ । भेट बिहान साढे १० बजे सुरु भएर करिब दुई घण्टासम्म चलेको थियो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले निर्वाचनको सुरक्षा वातावरण अझै पूर्ण नभएको र चुनौतीहरू कायमै रहेको बताएका थिए । यसको जवाफमा प्रधानमन्त्री कार्कीले बुधबारदेखि नै ८० हजार नेपाली सेना निर्वाचन सुरक्षा लागि खटाइसकिएकाले अब मतदाता, उम्मेदवार र कर्मचारीको सुरक्षा सुनिश्चित हुने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । 

प्रधानमन्त्री कार्की जेनजी आन्दोलनपछि चुनावी सरकारको नेतृत्व गरेकी हुन् भने ओलीलाई त्यही आन्दोलनले सत्ताच्यूत गरेको थियो । त्यसयता ओलीले सरकार गठन र काम कारबाही प्रति असन्तुष्टि जनाउँदै आएका थिए ।  पछिल्लो छलफलले दुवै पक्षबीच विश्वासको वातावरण निर्माण गर्न मद्दत पुगेको देखिन्छ। यसअघि पनि उनीहरू बीच तीन चरणको वार्ता भइसकेको छ।

फागुन २१ को निर्वाचन नजिकिएसँगै दलहरूले चुनावी अभियान तीव्र पारेका छन् । एमाले र नेकपा दुवैले निर्वाचन एकै चरणमा गर्नुपर्ने अडान राख्दै आएका छन् । सरकारले भने दुई चरणमा निर्वाचन गर्न सकिने बताएपछि दलहरुले असन्तुष्टि जनाएका थिए ।

 

 
 
 
 
 
विहीबार, २२ माघ २०८२, १४ : ५४

प्रतिक्रिया