काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो चुनावी वाचा पत्र सार्वजनिक गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित ‘परिवर्तन उद्घोष सभा’ मार्फत पार्टीले वाचा पत्र सार्वजनिक गरेको हो।
घण्टाघर चोकमा आयोजित सभामा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले सहभागी थिए।
पार्टीले सुशासन, पारदर्शिता र आर्थिक सुधारलाई केन्द्रमा राखेर वाचा पत्र सार्वजनिक गरेको जनाएको छ।
रास्वपाले दलीयकरणको अन्त्य र उच्चस्तरीय भ्रष्टाचार छानबिनलाई मुख्य एजेन्डा बनाएको छ। वाचा पत्रमा २०४६ सालयताका उच्चपदस्थ राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्न शक्तिशाली उच्च आयोग गठन गर्ने प्रतिबद्धता जनाएको छ।
यस्तै, कर्णालीका लागि विशेष आर्थिक प्याकेज, डिजिटल अर्थतन्त्र प्रवर्द्धन र वैदेशिक रोजगारीमा रहेका युवाको मताधिकार सुनिश्चित गर्ने योजना पनि अघि सारेको छ। पार्टीले सुशासन र उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य लक्ष्य रहेको जनाएको छ।
पार्टीले फागुन २१ पछिको सरकार र आगामी बजेटको स्पष्ट खाका प्रस्तुत गर्दै मुलुकको अर्थतन्त्र र सुशासनमा आमूल परिवर्तन गर्ने उद्घोष गरेको छ।
पार्टीको चुनावी वाचा पत्र सार्वजनिक गर्दै उपसभापति स्वर्णिम वाग्लेले अबको ५ देखि ७ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलर (१०० खर्ब रुपैयाँभन्दा बढी) पुर्याउने महत्वाकांक्षी योजना प्रस्तुत गरे। उनले स्थिर मूल्यमा वार्षिक कम्तीमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र सोही अवधिमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने लक्ष्य राखिएको बताए।
रास्वपाले आफ्नो चुनावी वाचा पत्रमार्फत भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाएको छ। वाचा पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र र प्रभावकारी बनाइने उल्लेख छ। सरकारी कर्मचारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने र भ्रष्टाचारका मुद्दामा छिटो कारबाही सुनिश्चित गरिने पार्टीले जनाएको छ।
प्रतिक्रिया