काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले बढ्दै गएको वैदेशिक रोजगारीको निर्भरतालाई घटाउँदै देशमै रोजगारी अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिबद्धता–पत्रमार्फत सहकारितामा आधारित उत्पादन प्रणालीको विकास र विस्तारलाई जोड दिँदै रोजगारी सिर्जना गर्ने नीति अगाडि सारेको हो ।
स्रोतसाधनको दक्षतापूर्ण विनियोजन, खर्च क्षमतामा उल्लेख्य वृद्धि, उत्पादन तथा रोजगारी वृद्धि समावेशी विकास र वैकल्पिक वित्त परिचालनमार्फत आर्थिक वृद्धिदरलाई हासिल गर्ने लक्ष्य लिएको छ ।
स्रोत–साधनको प्रभावकारी परिचालनमार्फत आर्थिक तथा सामाजिक असमानता न्यूनीकरण गर्दै पाँच वर्षमा हालको बहुआयामिक गरिबीको दर २०।१५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।
यो लक्ष्य भेट्टाउनका लागि दिगो, समन्वित र तीव्र नीतिगत प्रयास आवश्यक हुन्छ । पछिल्ला वर्षहरूमा नेपालले गरिबी घटाउने क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ, तर ५ प्रतिशत जस्तो न्यून स्तरमा पु¥याउन ठूला संरचनात्मक सुधार चाहिन्छ । त्यसका लागि नेकपाले तीव्र आर्थिक वृद्धि गर्ने आधारहरू पहिल्याएको छ ।
कृषि आधुनिकीकरण, साना–मझौला उद्योग, पर्यटन क्षेत्रको प्रवर्द्धन गरेर रोजगारी सिर्जना गर्ने उद्योग स्थापना गर्ने नीति अख्तियार गरेको नेकपा नेताहरूले बताउँदै आएका छन् ।
वैदेशिक रोजगारीमा निर्भरता घटाउँदै देशमै अवसर विस्तार सिर्जनाका लागि नेकपा प्रतिबद्ध भएर लाग्ने नुवाकोट क्षेत्र नं १ उम्मेदवार हितबहादुर तामाङले बताउनुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी विस्तार गरेर जनताको मौलिक हकलाई सुरक्षित गर्ने उहाँको भनाइ छ । दुर्गम क्षेत्रमा विद्यालय र स्वास्थ्य सेवा पहुँच विस्तार गर्नका लागि नेकपाले अभियान अगाडि बढाउने आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।
त्यसैगरी बालपोषण र मातृस्वास्थ्य सुधारलाई पनि प्राथमिकता दिँदा गरिबीको दर कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । सडक, विद्युत्, खानेपानी, इन्टरनेट पहुँच विस्तार, ग्रामीण–शहरी अन्तर घटाउने विषयलाई पनि नेकपाले महत्त्वका साथ अगाडि बढाएको छ ।
अति गरिब परिवारलाई नगद सहायता उपलब्ध गराउनेदेखि वृद्धभत्ता, अपाङ्गता भत्ता प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्य लिएको छ । देशमा उपलब्ध स्रोत साधनको सही प्रयोग गरेर स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने लक्ष सहित नेकपा निर्वाचनमा होमिएको ललितपुर क्षेत्र नं ३ का उम्मेदवार राजकाजी महर्जनले बताउनुभयो ।
उहाँका अनुसार केवल आर्थिक वृद्धि मात्र पर्याप्त हुँदैन, शिक्षा, स्वास्थ्य, जीवनस्तर सबैमा सन्तुलित सुधार आवश्यक हुन्छ, किनकि बहुआयामिक गरिबी आय मात्र नभई जीवनस्तरका धेरै सूचकमा आधारित हुन्छ ।
प्रतिक्रिया