काठमाडौं- आसन्न फागुन २१ को निर्वाचनमा पूर्वी रुकुमबाट उम्मेदवारी दिएका नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नोसहित अन्य तीन निर्वाचन क्षेत्रले पनि चुनावी तनाव बढाएको छ । प्रचण्डले आफूसहित परिवारका सदस्य छोरी रेनु र बुहारी बिना मगरलाई पनि चुनावी मैदानमा उतारेका छन् । चितवन– ३ बाट छोरी रेनु उम्मेदवार बनेकी छिन् भने बुहारी बिना मगर भने कञ्चनपुर–१ बाट नेकपाको उम्मेदवार बनेकी छिन् ।
आफूसँगै पारिवारिक सदस्य रहेका यी दुई जनालाई चुनाव जिताउनुपर्ने दबाबमा रहेका प्रचण्डलाई अर्कोतिर सिन्धुली–२ ले पनि थप तनाव बढाउँदै चुनौती थपेको हो । केही दिन अघि चुनावी कार्यक्रममा सिन्धुली पुगेका उनले नेकपाबाट उम्मेदवारी दिएका आफ्ना विश्वासपात्र राजन दाहाललाई अन्तर्राष्ट्रियस्तरको नेताको उपमा दिँदै प्रशंसा गरेका थिए । यसले पनि प्रचण्डको राजन दाहाल मोह दर्शाउँदै चुनाव जिताउनै पर्ने पिरलो रहेको प्रष्ट हुन्छ । सोही सिन्धुली–२ मा प्रचण्डका अर्का पुराना सारथि महेश्वर दाहालले पार्टीका उम्मेदवार उनै राजन दाहाल विरुद्ध बागी उम्मेदवारी दिएका छन् ।
महेश्वर दाहाल प्रचण्डको पूर्ववत पार्टीको भातृ संगठन प्रेस सेन्टर नेपालको संस्थापक अध्यक्ष हुन् । माओवादीमा असारे काका भनेर चिनिने महेश्वरका बुबा ईश्वरी दाहाल
सिन्धुलीको पुराना कम्युनिष्ट नेताका साथै माओवादी आन्दोलनमा प्रचण्डका समेत अग्रज नेता हुन् । सिंगै परिवार नै माओवादी आन्दोलनमा होमिएका महेश्वर दाहालको उम्मेदवारी सिन्धुली २ मा प्रचण्डका विश्वासपात्र राजन दाहालमाथि चुनौती बनेर खडा भएको छ ।
महेश्वरसहित उनको सिंगै परिवार माओवादी जनयुद्धमा होमिँदा राजन भने आत्मसमर्पण गरेर पार्टीबाट पलायन भएको आरोप जिल्लामा लाग्ने गरेको छ । अहिले उनै राजनलाई प्रचण्डले काखी च्यापेपछि महेश्वर रुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएको बताइन्छ ।
प्रचण्डले स्वतन्त्र उम्मेदवारी दिएका महेश्वर दाहालसहित अर्का वरिष्ठ नेता हरिबोल गजुरेललाई उनको उम्मेदवारीको प्रस्तावक बनेको भन्दै कारबाही गरेका छन् । उनै महेश्वरलाई सघाएको भन्दै पार्टीका अन्य दुई नेता जिल्ला संयोजक र इन्चार्ज पनि कारबाहीमा परेर पार्टीबाट निष्कासित भएका छन् ।
यसरी तत्कालीन माओवादीको गढका रुपमा रहेको पूर्वको रोल्पा भनेर परिचित सिन्धुली–२ मा यसपटक विगतको विरासत जोगाउन निकै कठिन भएको छ । सिन्धुली–२मा विगतदेखि नै बागी उम्मेदवारले जित हासिल गरेको इतिहास रहेकाले पनि यसपाली महेश्वरको उम्मेदवारीले प्रचण्डको तनाव निकै बढाएको हो । २०६४ मा सिन्धुली–२ मा माओवादीले जनमोर्चाका लिलामणि पोखरेललाई समर्थन गर्ने संस्थागत निर्णय गरे पनि त्यस विपरीत उम्मेदवारी दिएकी निरु दर्लामीले जित हात पारेकी थिइन् ।
यसपटक पनि पार्टीको जिल्ला इन्चार्ज बुद्धिमान माझी र संयोजक पानीराज बम्जन महेश्वरकै पक्षमा लागेर कारबाही भोगेका छन् । पार्टीको जिल्ला कमिटी नै बागी उम्मेदवार महेश्वरसँगै रहेपछि विगतकै इतिहास दोहोरिने भयले प्रचण्ड सशंकित छन् । गत २०७९ को निर्वाचनमा सिन्धुली २ मा राजन दाहालले ५,८३० मतान्तरसहित एमालेका मनोजजंग थापालाई पराजित गरेका थिए । कांग्रेस र तत्कालीन एकीकृत समाजवादी सहितको गठबन्धनबाट उम्मेदवार बनेका राजनले २७,५१७ मत ल्याएर विजयी हुँदा पराजय व्यहोरेका थापाले २१,६८७ मत ल्याएका थिए । उक्त निर्वाचन क्षेत्रमा साविक माओवादीको समानुपातिक मत १८, २७१ रहेको छ भने एकीकृत समाजवादीको मत ६५८ थियो ।
उता, चितवन ३ मा त झनै आफ्नै छोरी रेनुले नै उम्मेदवारी दिएकाले प्रचण्डलाई त्यहाँको साख जोगाउनुपर्ने निकै ठूलो चुनौती छ । कांग्रेसको सहयोगमा दुई कार्यकाल मेयर भएर चितवनको विकासमा उल्लेख्य प्रगति गरेकी रेनुलाई रास्वपाकी सोविता गौतमले चुनौती दिएकी छिन् । देशैभर देखिएको रास्वपाप्रतिको उभारको प्रभाव आफ्नो क्षेत्रमा पर्ने डरले रेनुको चुनावी दौडधुप आजभोलि निकै आक्रामक ढंगले अघि बढेको छ ।
यसैबीच केही मिडियाले मत सर्भेक्षण भन्दै रेनुको पराजय हुने आँकलनसहितको समाचार सम्प्रेषण गरेपछि चितवन–२ को चुनावी माहोल निकै तरंगित बनेको छ । यद्यपि, भरतपुरको विकास निर्माणमा रेनुकोे उल्लेख्य योगदानको आधारमा उनी लोकप्रिय रहेकाले चितवन–३ मा उनलाई बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको छ । गत २०७९को निर्वाचनको मत परिणाम अनुसार साविक माओवादीको समानुपातिक मत १६,०९० र अर्को त्यसमै समाहित भएको एकीकृत समाजवादीको मत १,०८५ रहेको थियो । यही विगतको मतका आधारमा अन्य दलको अनुपातमा साविक माओवादी यहाँ गणितिय रुपमा तेस्रो स्थानमा रहेको छ ।
गत निर्वाचनमा एमालेको समर्थनमा चितवन ३ मा उम्मेदवारी दिएका विक्रम पाण्डेले साविक माओवादीका उम्मेदवार डा.भोजराज अधिकारीलाई ९,२३३ मतान्तरले पराजित गरेका थिए । यसअघि पहिलोपटक भरतपुर महानगरको मेयरमा धाँधली गरेर जिताइएको भन्दै रेनु विवादमा तानिएकी थिइन् । दोस्रो पटक भने भरतपुर महानगरको पाँचवर्षे कार्यकाल पूरा नगरी राजीनामा दिएर चितवन ३ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेकी हुन् ।
उता, कञ्चनपुरमा उम्मेदवारी दिएकी प्रचण्डकी बुहारी बिना मगरको चुनावी माहोल भने त्यति उत्साहप्रद देखिएको छैन । विगतमा प्रचण्डमाथि परिवारवादको आरोप लाग्दै आएको बेला यसपालि पनि उनैलाई उम्मेदवार बनाएपछि स्थानीय नेताहरु असन्तुष्ट रहेको चर्चा छ । तथापि, संयोजक प्रचण्डको इज्जत जोगाउनकै लागि भए पनि अहिले बिनाको चुनावी प्रचारमा जिल्लाका नेताहरु जोडतोडले लागेका छन् ।
साविक माओवादीको सांगठनिक अवस्था कञ्चनपुर–१ मा खासै मजबुत छैन । गत निर्वाचनको मत परिणाम अनुसार तत्कालीन माओवादीबाट उम्मेदवार रहेकी यिनै प्रचण्डकी बुहारी बिना मगरलाई एमालेका तारा लामाले ५,५४३ मतान्तरले पराजित गरेका थिए । लामाले २४,९४३ मत ल्याएर विजयी हुँदा बिनाले १९, ४०० मत ल्याएकी थिइन् । यो त्यतिबेला कांग्रेस लगायतका दलसँगको चुनावी सहकार्यको साझा मत थियो ।
कञ्चनपुर १ मा साविक माओवादीको समानुपातिक मत ८,०७४ रहेको छ भने एकीकृत समाजवादीको जम्मा ६०८ मात्रै छ । अहिले माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलहरुको एकतापछि उल्लेख्य मत बढ्ने विगतको मतपरिणामको आँकडा अनुसार देखिँदैन । यसपटक पनि उनै लामासँग बिनाको प्रतिस्पर्धा हुन लागेको छ । कञ्चनपुर–१ मा विगतदेखिको मत परिणामबाट यहाँका मतदाताले हरेक निर्वाचनमा नयाँलाई मौका दिँदै आएको देखिएकाले यसपटक पनि नयाँले बाजी मार्ने सम्भावना समेत छ ।
यसैगरी, हरेक निर्वाचनमा चुनावी क्षेत्र परिवर्तन गर्दै आएका प्रचण्ड आफैंलाई भने यसपटकको निर्वाचन क्षेत्र पूर्वी रुकुम सुरक्षित नै देखिन्छ । तीनवटा मात्रै स्थानीय तह भएको सानोे जिल्ला पूर्वी रुकुमको सबै क्षेत्रमा साविकको माओवादीले क्लीन स्विप गरेकाले पनि यहाँ निर्वाचन जित्न उनलाई कठिन छैन ।
गत आम निर्वाचनमा पनि माओवादीका प्रतिनिधिसभा उम्मेदवार पूर्ण घर्ती यहीबाट ७ हजार ५१ मतान्तरले विजयी भएका थिए । १२ हजार २६२ मत ल्याएर साविक माओवादीका घर्ती विजयी हुँदा एमालेका कैलाशकुमार मल्लले ५ हजार २११ मत ल्याएका थिए । त्यतिबेला कांग्रेससहितको गठबन्धन रहे पनि माओवादीको संगठित मत समेत यहाँ बलियो हुँदा एक्लै लड्दा पनि चुनाव जित्न सहजै छ । गत निर्वाचनमा माओवादीको समानुपातिक मत पूर्वी रुकुममा ७,८५५ रहँदा अर्को समाहित घटक एकीकृत
समाजवादीको २०४ मात्रै छ । यसपटक प्रचण्डलाई गणितिय रुपले निर्वाचन जित्न सहज भए पनि सहीदपुत्रको उम्मेदवारीले भने उनीमाथि राजनीतिक प्रश्न उठाएको छ । माओवादी जनयुद्धको कमाण्डर रहेका प्रचण्डलाई त्यहीँ जनयुद्धमा बुबाआमा गुमाएका सहिदपुत्र सन्दीप पुनले यहाँ उनी विरुद्ध उम्मेदवारी दिएका छन् । जनयुद्धका सहिद सूर्यप्रकाश पुन र परम्परा गौतमका पुत्र रहेका उनले प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट उम्मेदवारी दिएका हुन् ।
आफैंले नेतृत्व गरेको जनयुद्धका सहिदका सन्ततीसँग प्रतिस्पर्धा गर्नुपर्ने प्रचण्डको बाध्यात्मक अवस्थालाई विपक्षीले जनयुद्धको दूरावस्थाको रुपमा चित्रण गरेका छन् । प्रचण्डको आफ्नै निर्वाचन क्षेत्र पूर्वी रुकुममा सहिदपुत्रको उम्मेदवारीले उनलाई नैतिक रुपमा चुनौती दिएको छ ।
यस निर्वाचनमा प्रचण्डलाई चितवन–३ छोरी, कञ्चनपुर– १ मा बुहारी र सिन्धुली–२ मा पार्टी विरुद्ध उम्मेदवारी दिएका महेश्वरलाई हराएर विश्वासपात्र राजन दाहाललाई जिताउनैपर्ने दबाबले पिरोलेको छ । छोरी–बुहारी पारिवारिक सदस्य भएकाले निर्वाचनमा विजयी गराउन उनको भरमग्दुर प्रयत्न हुनु स्वाभाविकै हो । तर, त्यसबाहेक सिन्धुली २ मा राजन दाहालको विजय पनि उनका लागि निकै ठूलो प्रतिष्ठाको विषय बनेको छ ।
यसपटक जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट सिफारिस भएका राजन दाहाललाई प्रदेश र जिल्ला पार्टी कमिटीको निर्णय विपरीत प्रचण्डले जबरजस्ती सिन्धुली २ मा टिकट दिलाएर पठाएका थिए । त्यसैले पनि उनी राजन दाहालको चुनावी परिणामबारे चिन्तित रहेको प्रष्ट हुन्छ ।
प्रचण्डले जिल्ला कमिटी र बागमती प्रदेश कमिटीको निर्णय विपरीत राजन दाहाललाई टिकट दिएपछि सिन्धुली पार्टीले असन्तुष्टि जनाएको थियो । राजन दाहालको जिल्लामा व्यावसायिक सञ्जाल व्यापक रहेको छ । उनको उठौती पुठौती धन्दा र आफ्नो रक्षाकवचका रुपमा प्रस्तुत हुने बाहुबली शैलीकै कारण प्रचण्डले रुचाएको बताइन्छ ।
राजन दाहालले सिन्धुलीको आफ्ना ठेक्कापट्टा लगायत अन्य आर्थिक कारोबार वापतको मोटो रकम खुमलटारसम्म पुर्याउने गरेको र हरपल आफ्नो प्रतिरक्षामा उत्रिँदै आएको गुन तिर्न प्रचण्डले प्रदेश र जिल्लाको निर्णय लत्याएर भएपनि उनैलाई टिकट दिएको जिल्लाका नेताहरु बताउँछन् ।
प्रतिक्रिया