सेयर बजार

चुनावले बढ्यो सेयर बजार, आज कुन कम्पनीको कति भयो कारोबार ?

मंगलबार, १९ फागुन २०८२, १५ : ४१

काठमाडौं- प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सेयर बजारमा सकारात्मक लहर देखिएको छ । मंगलबार नेप्से परिसूचक ३८.५२ अंकले उकालो लागेर २७१२ बिन्दुमा पुगेको छ । निर्वाचनका कारण अब बजार सोमबारदेखि मात्र खुल्नेछ ।

चुनावअघि नै लगानीकर्ताको मनोबल बलियो बन्दै गएको संकेत बजारले दिएको छ । फागुन १० यता मात्रै नेप्से ९८ अंकले बढेको छ । सो दिन परिसूचक २६१४ बिन्दुमा थियो । कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । अघिल्लो दिन ५ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

समूहगत सूचकतर्फ व्यापार बाहेक सबै क्षेत्र हरियालीमा देखिए । व्यापार समूह ०.८४ प्रतिशतले ओरालो लाग्दा बैंकिङ १.६४, विकास बैंक १.५९, फाइनान्स १.४३, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर २.१३, लगानी १.५२, जीवन बीमा १.०५, उत्पादन तथा प्रशोधन १.४९, माइक्रोफाइनान्स १.६६, निर्जीवन बीमा १.११ तथा अन्य समूह १.०३ प्रतिशतले वृद्धि भए ।

व्यक्तिगत कम्पनीतर्फ साल्पा विकास बैंक १० प्रतिशतले बढ्दै शीर्ष लाभकर्ता बन्यो । पन्चकन्य माइ हाइड्रोपावर ९.८९ प्रतिशत, रिलायन्स स्पिनिङ मिल्स ९.८२ प्रतिशत, मोलुङ हाइड्रोपावर ६.१८ प्रतिशत र लक्ष्मी लघुवित्त ६.०९ प्रतिशतले उकालो लागे ।

विपरीत दिशामा भने शुभम् पावर २.५३ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट व्यहोर्ने कम्पनी बन्यो । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, रिडी पावर, एसवाई प्यानल, मञ्जुश्री फाइनान्स र ङादी ग्रुप अग्रस्थानमा रहे ।

निर्वाचनपछिको राजनीतिक स्थायित्व र नीतिगत स्पष्टताको अपेक्षाले बजारलाई चलायमान बनाएको विश्लेषकहरूको आकलन छ । अब सबैको नजर निर्वाचन परिणाम र त्यसपछिको बजार प्रतिक्रियातर्फ केन्द्रित भएको छ ।

 
 
 
मंगलबार, १९ फागुन २०८२, १५ : ४१

प्रतिक्रिया